
लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-५ तल्लो चिप्लाका लप्टी गुरुङ घलेको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । तल्लो चिप्लाको गैरीटोलस्थित सिरानमा रहेको घरमा बुधबार राति १० बजेतिर आगलागी भएको हो । आगलागीबाट घरका अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा, नगद, गरगहना सबै नष्ट भएको पीडितले बताएका छन् ।
टिनले छाएको २ तले ढुंगामाटोले बनाएको पालीसहितको घर आगलागीबाट पूर्णरुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति नभएपछि घर र घरभित्रका सबै सामान जलेको वडाअध्यक्ष घनश्याम घलेका बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार बुधबार राति सवा १० बजेतिर विद्युत सर्ट भएर आगलागी भएको जानकारी आएको र बाहुनडाँडा र जगतबाट प्रहरी खटेर गएकोमा करिब साँढे १ घण्टामा आगो नियन्त्रणमा लिएको बताए । उनका अनुसार आगलागीबाट १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
वडाअध्यक्ष घलेका अनुसार घर र घरभित्रका सबै आगलागीबाट नष्ट भएपछि लप्टी गुरुङ घलेको परिवारलाई आफन्तको खाली घरमा सारिएको छ । खाद्यान्न सबै जलिसकेकाले राहत लिएर जाने तयारी भइरहेको उनले बताए ।