फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुने

-


     नयाँ दीप    
     फागुन ७ गते २०८० मा प्रकाशित


लमजुङमा आगामी १३ गतेदेखि २७ गतेसम्म दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले यही फागुन १३ देखि २७ गतेसम्म लमजुङमा खोप लगाउने मिति तय भएको जनाएको हो ।

जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिनुभयो ।

जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख खनालका अनुसार पहिलो चरणमा मस्र्याङदी, दोर्दी र दुधपोखरी गाउँपालिकामा १३ देखि १६ गतेसम्म अभियान सञ्चालन हुने छ । त्यसैगरी सुन्दरवजारमा १३ देखि १७ गतेसम्म, बेसीशहर नगरपालिकामा १३ गतेदेखि १८ गतेसम्म खोप अभियान हुने भएको छ ।

त्यसैगरी क्होलासोँथार गाउँपालिका र राईनास नगरपालिकामा २१ गतेदेखि २४ गतेसम्म र मध्यनेपाल नगरपालिकामा २२ गतेदेखि २७ गतेसम्म अभियान सञ्चालन हुने भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालय लमजुङले जिल्लामा हुने खोप अभियानको विषयमा आईतबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गराएको हो ।

जिल्ला खोप समन्वयय समिति संयोजक एवं जिसस प्रमुख पुर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख खनालले खोप अभियानको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी तुलसी घिमीरे, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयँल लगायत जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । देशभर फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाको अनुसार लमजुङ सहित भारतसँग सीमा जोडिएका दादुरा–रूबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाउने कार्यक्रम रहेको छ । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन भएकोले यस पटक अभियान सञ्चालन नहुने भएको छ । खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागेको हो । दादुरा–रूबेला सवैभन्दा बढी संक्रामक रोग भएको र एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने जोखिम भएकोले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गरीएको मन्त्रालयले जनाएको छ ।