
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा न ४ स्याँगेमा गएराती घरसहित पसलमा आगोलागी हुँदा महिलाको मृत्यु भएको छ । ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाच्न सफल भएका थिए ।
सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया आगलागीबाट बाहिर निस्कन नसकेर निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीबाट महिलाको शव पूरै जलेको अवस्थामा भेटिएको छ ।
बेसीशहर नगरपालिका–२, गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती स्याँगेमा बिगत करिब १८ बर्षदेखी किराना र कपडा पसल चलाउदै आएका थिए । उनीहरुका २ वटा बच्चाहरु काठमाडौंमा बसेर पढ्ने कारण घरमा दुई जना बुढाबुढी मात्रै बस्दै आएका थिय ।
फलामे पोल गाढेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको पसल सहितको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।बिद्युत लाईन सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
प्रहरीका अनुसार आगलागीबाट ग १६ प ३९३८ नम्बरको मोटरसाइकल पनि जलेको छ । आगलागीको कारण र क्षतिबारे हालसम्म कुनै बिवरण नआएको र अनुसन्धान भइरहेको बताइएको छ ।