बेसीशहरमा जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान

-


     नयाँ दीप    
     पौष १८ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिकाले उत्कृष्ट जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको नगरसभाको १४ औं अधिवेशनमा नगरपालिका भित्र रहेका ५० जना जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुलाई नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्यालले प्रशंसा–पत्र, जनही नगद ५ र टिका लगाएर संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

आर्थिक वर्ष २०८०\०८१ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगत नगरपालिका भित्रका रहेका जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरिएको नगप्रमुख गुमानसिंह अर्यालयको भनाई छ । ८० वर्ष कटेका र दिर्घरोगी जेष्ठ नागरिकहरुको हेरचाहकर्तालाई थप हौसला मिलोस भन्ने उदेश्यले उद्धेश्यले हेरचाहकर्तालाई सम्मान र नगद प्रदान गरिएको नगरप्रमुख अर्यालको भनाई छ ।
पछिल्लो समय ज्येष्ठ नागरिकहरु अपहेलित र बेसाहारा बन्दै गएको अवस्थामा जेष्ठ नागरिकको हेरचाहकर्तालाई यस कार्यक्रमले थप हौसला प्रदान गर्ने अपेक्षा रहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।

सम्मानित हुनेहरु मध्ये बेसीशहर नगरपालिका वडा नम्बर १ को सिता वस्तीले आफ्ना १ सय ४ वर्षका ससुरालाई हेरचाह गर्दै आउनुभएको छ । उहाँले जेष्ठ नागरिकका विषयमा नगरपालिकाले गरेको कार्य सराह्निय रहेको बताउदै जेष्ठ नागरिक हेरचाहकर्ताको रुपमा आफु सम्मानित भएकोमा खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

नगरसभामा उत्कृष्ट ४ जना कर्मचारीलाई सम्मान

बेसीशहर नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरसभाको १४ औँ अधिवेशनमा सेवा प्रवाहमा उत्कृष्टस्तरको कार्यसम्पादन गर्ने ४ जना कर्मचारीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बेसीशहर नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्येबाट कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, नगरपालिकाको कार्यालय र वडामा विकास निर्माण सम्बद्ध क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीहरुको तर्फबाट छैटौँ तह इञ्जिनियर पासाङ जिरेल सम्मानित हुनुभएको छ ।

त्यसैगरी, वडामा कार्यरत कर्मचारीहरु मध्येबाट वडा नम्बर १० को वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक रामकुमारी घिमिरे र बेसीशहर नगरपालिकाको कार्यालय र मातहातको कार्यालयमा कार्यरत सहयोगी कर्मचारीहरुमध्येबाट नगरपालिकाका कार्यालयमा कार्यरत कार्यालय सहयोगी राजेश बराल सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेहरुलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले प्रसंसा–पत्र र उपप्रमुख पद्मा गुरुङले टीका र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले जनही नगद ६\६ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गर्नुभएको छ ।

उत्कृष्ट कर्मचारी छनोटका लागि बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । कर्मचारीमा भएको ज्ञान, सिप र दक्षतालाई अझै उजागार गरी प्रोत्साहनका लागि सम्मान कार्यक्रमको शुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले बताउनुभयो ।