पैसा लिएर वडाध्यक्षको हत्या गर्नका लागि बन्यो योजना

-


     नयाँ दीप    
     मंसिर २९ गते २०८० मा प्रकाशित


लमजुङको एक वडाध्यक्षलाई हत्या गर्नको लागि योजना बनेको खुलासा भएको छ । मध्यनेपाल नगरपालिका वडा नं १ का वडाध्यक्ष सुदीप थापालाई हत्या गर्ने योजना बनेको पत्ता लागेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

वडाध्यक्ष थापाको विरुद्धमा आफ्नै गाउँका नाताले काका पर्ने बाबुराम थापा र नाताले भाई उनका छोरा सागर थापाले आफ्नो ज्यान मार्नको लागि योजना बनाइएको पत्रकार सम्मेलनमा वडाध्यक्ष थापाले बताउनुभएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा जिता गाउँको ४⁄ ५ घरमा लगातार सुनका गहना चोरी घटना हुन थालेको स्थानीयले खबर वडाध्यक्षलाई सुरक्षाको लागि पहल गरिदिन र चोर पत्ता लगाउन सहयोग मागेको थापाको भनाई छ । खोजतलास गर्दै जाँदा गाउँकै स्थानीय बाबुराम थापाको घरमा एक जना नौलो मानिस हप्ता १० दिन अघिदेखि बस्दै आएको फेला परेको थियो ।

जनप्रतिनिधि समेत भएका नाताले उनका बारेमा जानकारी लिन खोज्दा ती व्यक्ति तनहुँ जिल्लाको दर्जनौं मुद्दा खेपेका र पटक पटक जेल गइसकेका व्यास नगरपालिका– ७ मा स्थायी बसोबास भएका ३१ वर्षीय रोसन गुरुङ भएको खुल्न आएको वडाध्यक्ष थापाले बताउनुभयो ।

त्यसबारेमा मंसिर २७ गते सोतीपसल स्थित प्रहरी चौकीमा समेत उनलाई लगेर सोधपुछ गर्ने क्रममा रोसन गुरुङले आफूलाई एक लाख ५० हजार दिने सर्तमा सुदिप थापाको हत्या गर्न भनिएको तर पछि पैसा नपुग भएको हुँदा आधा पैसा सुरुमा र आधा रकम काम भएपछि दिने सर्तमा आफूले काम गर्न मञ्जुर भएको गुरुङले बताएको थापाले बताउनुभयो ।

वडाध्यक्ष थापा मोटरसाइकलमा हिडेको भए त उहिल्यै भ्याई सक्ने गाडीमा हिडेको हुँदा हामीबाट बचेको र यसअघि तीन पटकको आफूहरूको प्रयास असफल भएको समेत रोसन गुरुङले बताएको भिडियो रेकर्ड समेत पत्रकार सम्मेलनका सार्वजनिक गरिएको थियो ।

सो पश्चात वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको पत्रकार सम्मेलनमा बताउनु भयो ।

बाबुराम थापा र उनका छोरा सागर थापाका साथै रोसन गुरुङलाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको सुदिप थापाले बताउनु भयो ।
सुदिप थापा गत स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको हो ।