७ वर्ष अघिदेखि साङ्लोमा बाँधिएका मेघराजको उद्धार

-


     भरत बाबु घिमिरे    
     मंसिर २७ गते २०८० मा प्रकाशित


लमजुङको दुधपोखरी गाउँपालिकामा विगत ७ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएका मेघराज गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङ बेसीशहर शाखाले बुधबार ३० वर्षिय गुरुङलाई साङ्लो मुक्त गरी उद्धार गरेर बेसीशहर ल्याएको हो ।

गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका २ केप्रुङ घर भएका गुरुङ दुधपोखरी गाउँपालिका वडा नं २ भूम्लीचोक मावली घरमा रहेका थिए । उनी सानै हुँदा बाबु बेपत्ता भएका कारण उनकी आमाले उनलाई लिएर माइत आइन् र उनीहरु त्यही बस्न थाले ।
हुँर्कदै गएका गुरुङ कमाउनको लागि कतार गए र २ वर्ष सम्म बसेर फर्किए । त्यसको केही समय पछि उनी फेरी कमाउनकै लागि मलेसिया पुगे । तर उनी मलेसिया पुगेको १ हप्तामा नै फर्किए । त्यसपछि उनको विस्तारै मानसिक अवस्था बिग्रँदै गएको उनको मामा भूराज गुरुङ बताउँछन् ।

दिनप्रतिदिन गुरुङको मानसिक अवस्था विग्रदै जान थाल्यो र उनले मान्छेलाई देखे पछि हिर्काउने, पशु चौपयालाई हिकाउने, मार्ने जस्ता उश्रृङ्खल गतिविधी गरेर सबैलाई निकै दुःख दिन थाले, उनको उपचार पनि गरियो तर केही काम नलागेको उनको मामा भूराजको भनाई छ । त्यसपछि उनलाई बाधेर राख्न थालिएको बताइएको छ ।

मावलीको घर नजिकैको बारीको पाटोमा टिनको छानो मात्रै बनाइएको टहरोमा फलामका साङ्लोले बाधेर उनलाई ५ वर्ष अघि देखि राख्न थालियो ।

एक हप्ता अघि दुधपोखरीका स्थानीय तुलसी गुरुङले उनको बारेमा मानव सेवा आश्रम बेसीशहरमा खबर गरेको आश्रमकी प्रमुख अनिता अधिकारीले बताउनुुभयो ।

खबर पाए पछि आश्रमकी प्रमुख अधिकारी सहित आश्रमको भवन निर्माण समितिका अध्यक्ष मोहन बहादुर थापा, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी लगायतको टोली दुधपोखरी पुगेर गुरुङको उद्धार गरी बेसीशहर शाखामा ल्याइएको छ । उनलाई आश्रमको संरक्षणमा राखी उपचार गरिने आश्रम प्रमुख अधिकारीले बताउनुभयो ।