चौँथो मेयर कपको उपाधी बेसीशहर १ उदिपुरको पोल्टामा

-


     नयाँ दीप    
     मंसिर २४ गते २०८० मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो ।

बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता वडा नं. १० ले नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

विजेता टिमलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठ लगायतले पुरस्कार, मेयर कप, ट्रफी, प्रमाणपत्र, मेडल वितरण गर्नुभएको थियो । प्रतियोगितामा बेसीशहर १० का रविन तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले खेल क्षेत्रको विकासका लागि नगरपालिका सँधै लागिपर्ने र पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभयो । प्रमुख अर्यालले वडाहरुले पनि खेलकुद क्षेत्रका लागि बजेट विनियोजित गर्नुपर्ने बताउनुभयो । यस्ता खाले प्रतियोगिताले नयाँ तथा दक्ष खेलाडी उत्पादनमा टेवा पूग्ने बताउनुभयो ।

बेसीशहर लमजुङ जिल्लाको सदरमुकाममा रहेको पालिका भएकाले पनि अन्य पालिकाको रुपमा यहाँ खेल गतिविधि प्राथमिकताका साथ सञ्चालन भइरहेको बताउनुभयो । चौँथो मेयर कप फुटबल प्रतियोगिता मंसिर १९ गतेदेखि सुरु भएको हो ।

चौँथोे मेयर कप फुटवल प्रतियोगितामा बेसीशहर नगरपालिकाभित्र रहेको ११ वटै वडाहरुको सहभागिता रहेको थियो । प्रतियोगिताबाट नगर खेलकुद विकास समिति बेसीशहरले पहिलो चरणमा ३५ जना खेलाडी छनौट गरेको छ । पुष १२ गतेदेखि सुरु हुने ३१ औँ त्रिवेणी कपमा सहभागी गराउनका लागि खेलाडी छनौट गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो ।