आमा र शिशुको मृत्यु भएको भन्दै दिनभर अस्पताल तनाबग्रस्त, भयो तीन बुँदे सहमती

-


     भरत बाबु घिमिरे    
     मंसिर १३ गते २०८० मा प्रकाशित


शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि लमजुङको जिल्ला अस्पताल बुधबार दिनभर तनाबग्रस्त भयो । पीडितको प्रदर्शनका कारण लमजुङ अस्पताल तनावग्रस्त बनेको हो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका ९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत्यु भएको छ भने उनको शल्यक्रियाबाट जन्मिएको शिशु मृत अवस्थामा थियो ।

पीडितपक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाई अस्पतालमा तनाबग्रस्त बनाएपछि जिल्ला प्रसाशनमा बार्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बेसीशहर नगरपालिका प्रमुख गुमानसिं अर्याल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला अस्पताल, पिडित पक्ष लगायतका टिमहरु विच बार्ता भई तीन बुँदे सहमती गरिएको छ ।

सहमती पत्रमा मृतक प्रति श्रद्धाञ्जली र परिवार प्रति समवेदना व्यक्त, विज्ञ सहितको छानविन समिति गठन गर्ने निर्णय गरिएको छ भने तेस्रोमा छानविन समितिको प्रतिवेदनका आधारमा जो दोषी देखिन्छ उसलाई कानुन अनुसारको कारबाही गरिने भनी उल्लेख गरिएको छ ।

सहमती भएअनुसार आज साझँ नै मृतक विकको जिल्ला अस्पताल र चितवन मेडिकल कलेज अस्पतालका सबै रिपोर्टहरु पिडित पक्षकै रोवहरमा खामबन्दी गरी जिल्ला प्रशासनमा बुझाईको अस्पताल व्यवस्थापन समितिका सदस्य बासुदेव थापाले बताउनुभयो ।

भोली विहिवार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयबाट आउने विज्ञ टोलीले उक्त रिपोर्टहरुमा गहिरो अध्ययन गर्ने र सत्यतथ्य पत्ता लगाउने बताइएको छ ।

पीडितका अनुसार गर्भवती विकलाई गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रिया मार्फत मृत शशिु जन्मिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ ५ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएपछि पीडितले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी आमा दुवैको मृत्यु भएको आरोप लगाएका छन् ।

पीडित पक्षले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए भने अस्पतालको सुरक्षार्थको लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा गठित ६ सदस्यिय छानविन समितिको नामावली