लक्ष्मीनारायण साकोसको ११ औ वार्षिक साधारण सभा सम्पन्न

-


     नयाँ दीप    
     कार्तिक २५ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना बरालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो ।

२०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारी संस्थामा हाल १४ सय ७१ जना शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उहाँका अनुसार जम्मा दुई लाख शेयर पुँजीबाट सुरु भएको साकोसको शेयर पुँजी वृद्धि भई हाल ८९ लाख ४३ हजार ६ सय रहेको छ ।

आर्थिक बर्ष २०७९÷०८० मा १३ करोड ७४ लाख ८७ हजार ४ सय ७ रुपैयाको कारोवार गरेको साकोसको कुल सम्पत्ति ४ करोड ९१ लाख ७६ हाजर ६ सय ८३ रुपैया रहेको कोषाध्यक्ष कान्तादेवि घिमिरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल वित्तिय क्षेत्रमा देखिएको तरलताको अभावले लगानी योग्य रकम पर्याप्त नभएको तथा केहि सहकारीहरुको समस्याका कारण सबै सहकारीलाई हेर्ने दृष्टीकोण नकारात्मक हुनु नहुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महिलाहरुको नेतृत्वमा सञ्चालित साकोसले वित्तिय क्षेत्रमा खाली बचत संकलन र ऋण प्रवाह मात्र नभई महिलाहरुलाई आर्थिक एवं समाजिक रुपले सशक्त वनाउन विभिन्न आय आर्जन एवं सिपमुलक कार्यक्रमहरु गर्दै आएको सहकारीका लेखा समिति संयोजक सिता न्यौपानेले वताउनुभयो ।

कार्यक्रममा लक्ष्मी नारायण पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नरायणप्रसाद घिमिरे, जिल्ला सहकारी संघका कोषाध्यक्ष नारायण बहादुर रिमाल, साकोसका सल्लाहकार तेजनारायण अधिकारी, नेफ्सुकनका प्रतिनिधि सन्देश घिमिरे, सहकारीका सल्लाहकार मायादेवि पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा संस्थामा वर्ष भरी कारोबार गर्ने असल ऋणीमा सिता गौली, असल बचतकर्तामा मन्जुमाया गुरुङ र टुकुना रावल र सहकारीका सेयर सदस्य शुभचिन्तक जानुका घिमिरेलाई सम्मान गरिएको थियो । जानुका घिमिरेले सहकारीको साधारण सभामा खानेपानीका लागि रु ६ सय सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा यसवर्षको एस.ई.ई मा ब्ं ल्याउने सहकारी संस्थामा आवद्ध सेयर सदस्यका छोराछोरीहरुलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट अंक ल्याई सम्मानित हुनेहरुमा दिप्सन घिमिरे, प्रार्थना रावल, पुजन पौडेल, अनुप पौडेल, सुयसा अधिकारी, प्रेमराज विष्ट, र सफल घिमिरे रहनुभएको छ ।

साधारण सभाका अवसरमा सहकारीले कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पार्वती तामाङलाई सम्मान गरेको थियो । सहकारी स्थापनाकाल देखि नै संस्थाको विभिन्न पदमा रहँदै आउनुभएको तामाङ प्रदेश सभा सदस्य जस्तो गरिमामय पदमा पुगेको भन्दै कार्यक्रममा संस्थाका अध्यक्ष बरालले दोसल्ला ओडाई टिका फूलमा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष सुशिलचन्द्र अधिकारी, सचिव सरोजकुमार दनाई, प्रवक्ता बसन्तबहादुर थापा, सदस्यहरुमा किशोरकुमार बस्नेत, प्रितम घले, रमेश राउत, सल्लाहकारहरुमा बेनबहादुर सुँयल, सीता श्रेष्ठ, अजितबहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विमला पौडेलले गर्नुभएको थियो ।