
लमजुङको सुन्दरबजारमा रहेका भूमिहिनहरुको नाममा जग्गा दर्ता प्रक्रिया पुरा भएको छ । बुधबार सदरमुकाम बेसीशहरमा रहेको राष्ट्रिय भूमि आयोगको कार्यालयमा जग्गा दर्ता पुस्तकमा औठा छाप र हस्ताक्षर गरेपछि सम्पूर्ण प्रकिया पुरा भएको हो ।
सुन्दरबजार नगरपालिकाका जम्मा छनोटमा परेका ३३ जना मध्ये भूमिहिन सुकुम्बासी मध्ये दावी विरोध नभई प्रमाण पुगेका २४ जनाले नाम दर्ता गरेका छन् ।
नाम दर्ता गरी सम्पूर्ण प्रक्रिया पुरा गरेका सुकुम्बासीहरुलाई यहि कार्तिक २४ गते जग्गाधनी लालपुर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोगका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो ।
आफू सुकुम्बासी भएको प्रमाण पूरा गरी २४ गते भन्दा अघि दर्ता गर्न आउन बाँकी ९ जना मध्येकाले पनि सोहि दिन नै लालपुर्जा प्राप्त गर्ने अध्यक्ष अधिकारीले बताउनुभएको छ । अध्यक्ष अधिकारीले जिल्लामा घरबारविहीन भएका भूमिहीनलाई उनीहरुकै नाममा लालपुर्जा दिने तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।

जो वास्तविक भूमिहीन हो, जो वर्षौंदेखि सार्वजनिक जग्गामा घर कटेरो बनाएर बसेका छन्, तिनीहरूको पहिचान गर्ने र उनिहरुलाइ दिने जग्गाको खोजि गरिसकेको र पहिलो चरणमा सुन्दरबजारका भूमिहिनलाई जग्गाधनी लालपुर्जा वितरण गरिने भएको हो ।
बुधबार भूमिहिनहरुको नाम दर्ता कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला भूमी आयोगका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
भुमिहिन परिवारलाई साडे ४ आनाको जग्गाको लालपुर्जा दिने आयोगले जनाएको छ । सुकुम्बासीहरु आफ्नो नाममा लालपुर्जा पाउने भएपछि खुशी भएका छन् ।
आयोगले जिल्लामा अव्यवस्थित बसोवास भएका, भूमिहीन दलित र भूमिहीन सुकुमबासी गरी तीन प्रकृतिको लगत संकलन गरिरहेको छ ।