
जिल्ला अस्पताल लमजुङले अस्पतालको व्यवस्थापन पक्ष सुधार गरेर ७८ नम्बर प्राप्त गरेको छ ।अस्पताल सुदृढीकरण कार्यक्रम तथा न्यूनतम सेवा मापदण्ड तय गर्नका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा लमजुङ अस्पतालमा अनुगमन गरेको थियो ।
प्रदेश सरकारको माताहातमा गएपछि चौथो पटक गरिएको अनुगमनमा टोलीले अस्पतालले व्यवस्थापन पक्ष राम्रो सुधार गरेकोले उत्कृष्ट नम्बर ल्याएको जनाएको छ । अस्पतालले तेस्रो अनुगमनमा ७५ नम्बर प्राप्त गरेको थियो ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयबाट आउनु भएका उर्मिला बराल, नवराज शर्मा, कृष्णप्रसाद पनेरु, मध्यविन्दु अस्पतालका मेसु डा जितेन्द्र कँडेल, मनाङ अस्पतालका मेसु डा भारती मेहता, मुस्ताङ अस्पतालका मेसु डा तेजेस नेपालको टोलीले अस्पताल अनुगमन गरेको थियो ।
अस्पताल अनुगमनपछि आयोजना गरिएको अस्पताल सुदृढीकरण कार्यक्रममा लमजुङ अस्पतालका मेसु डा विशाल तिवारी र नवराज शर्माले अस्पतालको बारेमा प्रस्तुती दिनु भएको थियो ।
अस्पतालमा रहेका ओपिडि, ल्याव, एक्सरे, इमर्जेन्सी, अपे्रशन, प्रशुती, जनरल वार्ड तुलनात्मक रुपमा राम्रो रहेको र डेण्टल विभाग सबैभन्दा राम्रो भएको निर्देशनालयको टिमको निश्कर्ष रहेको छ । साथै विगतका सबै अनुगमनमा क्यान्टिनमा आएपछि नम्बर घट्ने गरेको थियो यसपटक भने क्यान्टिनको समेत सुधार भएको प्रस्तुतीका क्रममा जानकारी गराइएको थियो ।
ल्यावमा आवश्यक थाइराइड मेशिन उपलब्ध गराई सेवा प्रदान गरिएको, अस्पतालमा इएमआर लागू गरिएको र भौतिक संरचना पनि निर्माण भएको हुदा सेवा समेत थपिएको टोलिको निश्कर्ष रहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल प्रमुख तिवारी, निर्देशनालयका टिम, अस्पतालका डाक्टर, विभागीय प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
अस्पताल सरकारले आफ्नै स्वामित्वमा लिएको छोटो समयमा राम्रो प्रगति गर्न सफल भएकोमा स्वास्थ्य निर्देशनालयको टोलीले व्यवस्थापन समिति, प्रशासन र कर्मचारीलाई धन्यवाद दिएको छ ।











