
राष्ट्रिय युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष ऋषिराम बस्नेतको घटनाको सत्य तथ्य छानविन गरी रिहाइको माग गर्दै, जिल्ला प्रशासन कार्यालय, लमजुङमा ज्ञापन पत्र बुझाएको छ । युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो ।
ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका वडा नं ७ का अध्यक्ष ऋषिराम बस्नेत आफ्नो आमाको उपचारको लागि लैजादा निजको आमालाई डेंगु देखा परि भर्ना गर्ने क्रममा विरामीको आफन्तसँग गरिने मन्जुरीनामा पत्रमा गरिने हस्ताक्षरको व्यहोरामा अपरेशन नगर्नु पर्ने विषयमा अपरेशन गर्नु पर्ने र सो जिम्मा आफन्तले लिनु पर्ने उल्लेख भएको बिषयमा सामन्य विवाद भएको र डा. सन्दिप अधिकारी र कृषिराम बस्नेत विच असामन्जस्यता उत्पन्न भएको परिस्थितिलाई अतिरञ्जित गरी अस्पतालको कर्मचारीले नियोजित हिसावले एउटा व्यक्तिलाई एकतर्फि चरित्र हत्या गर्ने कुरा गैर जिम्मेवार पुर्ण छ भनिएको छ ।
त्यस्तै अस्पताल भित्र भएको यथार्थ घटनाको सत्य तथ्य छानविन गरी वास्तविकता बाहिर ल्याउन आवश्यक रहेको कुरा ध्यानाकर्षण गराउन चाहन्छौ । घटनाका प्रत्यक्षदर्सी, सिसिटिभी फुटेज लगायतका उपकरणको सहयोग लिई चाँडो भन्दा चाँडो छानविन गरी गिरफ्तर गरिएका ऋषिराम बस्नेतको तुरुन्त रिहाईको जोडदार माग गर्दछ । अन्यथा हामी जस्तोसुकै कदम चाल्न वाध्य हुने कुरा यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं भनी ज्ञापन पत्रमा लेखिएको छ ।

युवा सघं लमजुङका युवाहरुको टोलीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएपछि जिल्ला अस्पतालमा समेत सो को बोधार्थ दिएका छन् ।
लमजुङको जिल्ला अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा डिउटीमा रहेका डाक्टर सन्दिप अधिकारीलाई कुटपिट र अभद्र व्यवहार गरेको भनेर उजुरी परेपछि बेसीशहर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेत आइतबार रातीबाट प्रहरी हिरासतमा रहेका छन् ।
