
पहिले–पहिलेको समयमा भौतिक बिकास र प्रविधि अहिलेको जस्तो थिएन, यातायातका साधन सहज थिएन मोवाइल फोनको सुविधा थिएन, विदेश जाने लहर थिएन, थोरै जागिर बाहेक पशुपालन र खेतीपातीबाट धेरैको गुजारा चलेको हुन्थ्यो ।
विवाह भएर टाढा टाढा पुगेका चेलिहरु बर्षदिनको तीज मनाउन घरमा बिदा लिएर मुस्किलले माईत जान पाउथे, माईती लिन आउने बाटो हेरेर बसेका चेली माईत जान पाए खुसी हुन्थे नत्र दुखि हुन्थे ।
बर्षभरिको खेतीपाती र घरको कामकाजबाट आत्तिएर बसेका चेलीबेटीलाई कतिबेला माईत जान पाईन्छ भन्ने हुन्थ्यो । तीजको अघिल्लो दिन र त्यसको राती खाने दरमा अनतिको चामलको लट्टे, दुध, ध्यु, केरा लगाएत खाएर भोलिपल्ट दिनभर निराहार व्रत बस्ने चलन थियो ।
विषेश गरी तीजमा भगवान् शिवलाई पुजाआजा गरी ब्रत बसेर भगवान् शिव जस्तै असल पति होस् र घर परिवारको सुस्वास्थ्य र दिर्घायुको कामना गर्ने र पति नहुनेले भगवान् शिव जस्तै असल पति प्राप्तिका लागि भन्दै व्रत बस्ने प्रचलन रहेको छ ।
बल्लतल्ल तीजमा माइत पुगेका सम्पूर्ण चेलिहरु जम्मा भएर बर्षभरिका दुख सुखका गित गाउँथे र ती गितहरु आफ्नै रचनामा मौलिक र यथार्थपरक बिषयमा बनाईएको हुन्थ्यो, त्यसले कतिलाई हँसाउने त कतिलाई रुहाउने गर्दथ्यो । विरह र वेदना समेटिएको गीत, मादलुको तालमा, आँगन भरी चेलीबेटी बसेर गाउँदा र नाच्दा तिजको रौनक लाग्थ्यो ।
आजकालको तीज विकृत बन्न थालेको छ, महिना दिन पहिले देखि तीज सुरु, महँगा होटल पार्टी प्यालेसमा, महंगा कपडा र गहनाका साथमा उपस्थित, महंगो खाना माछा मासु वाईन र वियर समेतको दर, मौलिकता नभै सुन्दा लाज लाग्ने छाडा शब्दका गित र त्यस्तै खालको डान्स (नाच) । बढ्दै गएको यस्तो प्रवृत्तिले न तिजको महत्व दर्शाउँछ न त दरको महत्व नै ।
हुने खानेलाई जति खर्च गरेपनि मतलब नभए पनि सामान्य आम्दानी गरेर हुदाँ खानेहरुका लागि यो समस्या बन्दै गएको छ र यसले पवित्र पर्व तीजलाई विकृत समेत बनाउँदै लगेको छ ।
धेरैजसो हाम्रा मौलिक पर्बहरु यस्तै तरिकाले विकृत भएर महत्वहिन हुदै जान थालेका छन् । व्यक्तिको आफ्नो तरिकाले जीवन जिउन पाउने अधिकार हो त्यसमा कसैले आलोचना गर्न मिल्दैन तर पवित्र पर्व तीजलाई जोडेर गरिने विकृत क्रियाकलापले यसको महत्व घटाउँछ । यतिबेला मूलुक चरम आर्थिक संकटमा छ, यस्तो अवस्थामा खर्च कटौती आवश्यक छ धेरै सम्पत्ति हुनेहरुले खर्च गर्न रहर भए सामाजिक काममा लगाएर अरुलाई सहयोग गर्न सकिन्छ ।
मानवसेवा आश्रम, अनाथालय, वृद्धाश्रममा र दुखी पिडितहरुलाई सहयोग गर्नुभयो भने तपाईंले कति आशिर्वाद पाउनुहुन्छ । महिना दिन पहिले देखि तीजको लागि गरिने खर्च देशभरको कति होला ? यो फजुल खर्च सदुपयोग गर्न सक्नुपर्छ । हामीले चाडपर्व मनाउनु पर्छ तर हाम्रो मौलिक संस्कृति परम्परा अनुसारको ।
पार्टी प्यालेस र होटलको दैनिक जसो महंगो खाना, दैनिक परिवर्तन गर्नुपर्ने कपडा, मेकअप र श्रमको घाटा आदि जसले घरमा कमाउने लाई पक्कै मार पर्नेछ । परनिर्भरताका कारणले हामीले गर्ने फजुल खर्च विदेशीएको छ ।
सभ्य बनौं चाडपर्व मनाउँ, सबैको सहभागीता र सबै खुशी हुने गरेर ।
सभ्य समाज निर्माण हाम्रो अभियान ।