
लमजुङको बेसीशहर नगरपालिका–२ बोहोराबेसीमा आदर्श महिला तथा बाल विकास केन्द्रको भवन निर्माण शिलान्यास गरिएको छ ।
नेपाली कांग्रेस लमजुङका सभापती एवं गण्डकी प्रदेश सभा सदस्य डाक्टर टकराज गुरुङले शुक्रबार एक कार्यक्रमका विच केन्द्रको भवन निर्माण शिलान्यास गर्नुभएको हो ।
बालगृहको भवन शिलान्यास गर्दै डाक्टर गुरुङले आदर्श महिला तथा बाल विकास केन्द्रले स्थापनाकालदेखी नै महिलाहरुको सशक्तिकरणका साथै अभिभावकविहिन बालबालिकाहरुको सहारा बन्दै आएको उल्लेख गर्नुभयो । यस आदर्श बालगृहले असहाय बालबालिकाहरुलाई आश्रय, पालनपोषण, शिक्षादीक्षा दिनुका साथै उनीहरुकोे भविष्य उज्वल पार्न खेलेको भूमिका अतुलनीय रहेको उहाँले बताउनुभयो ।
बालगृहको भवन निर्माण समयमै सम्पन्न गर्न सम्वद्ध सबै पक्ष जुट्नुपर्ने बताउँदै उहाँले यस अभियानका साथै बालगृहका हरेक गतिविधिमा प्रदेश सरकार र आफ्नो तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि जिल्ला अदालत लमजुङका न्यायधीस शिवप्रसाद खनालले यस संस्थाको भवन निर्माण अभियानलाई पूर्णता दिन लमजुङस्थित सबै राजनीतिक दल, समाजसेवीहरु जुट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम आदर्श महिला तथा बाल विकास केन्द्रकी अध्यक्ष सानुमाया गुरुङको अध्यक्षतामा भएको हो । बालगृहको भवन शिलान्यास भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माण कार्यमा सबैको साथ सहयोग मिल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका आजीवन सदस्य एवं पूर्व उपाध्यक्ष दीपक बरालले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका नेता गमप्रसाद गुरुङ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि वीरबहादुर बोहोरा, केन्द्रका उपाध्यक्ष नारायण घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लमजुङका उप–सभापति आनन्द घिमिरे, आरसीडिसीका अध्यक्ष राजेन्द्र बोहोरा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सदस्य रेनुका बोहोराले गर्नुभएको हो ।
समाजका सचिव हुमा गुरुङका अनुसार केन्द्रको स्थापना २०४६ सालमा भएको हो । बालगृह भने २०६० साल मंसिर १ गतेबाट सञ्चालनमा आएको हो । हाल यस बालगहृमा ११ जना बालबालिका रहेका छन् ।
केन्द्रको भवन आफ्नै स्वामित्वमा रहेको २१ आना बढि जग्गामा निर्माण हुनेछ । भवन निर्माणको लागत २ करोड रुपैयाँ रहेको उहाँले बताउनुभयो । भवन निर्माण भएसंगै सेवाप्रवाहमा सहज हुने आदर्श महिला तथा बाल विकास केन्द्रले जनाएको छ ।