
जिल्ला अस्पताल लमजुङले आफ्नो नाममा रहेको जग्गाको खोजविन सुरु गरेको छ । अस्पतालको नाममा रहेको जग्गा अन्य सघंसस्थाले पनि प्रयोगमा ल्याएको भन्दै खोजविन सुरु गरेको हो ।
अस्पतालको स्वामित्वमा रहेको करिब १४ आना जग्गा रेडक्रस सोसाइटी लमजुङले र ७ रोपनी ४ आना जग्गा जनस्वास्थ्य कार्यालय लमजुङले प्रयोग गर्दै आइरहेको तत्थ्य खोजविन समितिले पत्ता लगाएको छ ।
अस्पतालको नाममा रहेको जग्गा यकिन गर्नको लागि अस्पतालको व्यवस्थापन समितिका सदस्य बसन्तबहादुर थापाको संयोजकत्वमा ७ सदस्यिय खोजविन समिति निमार्ण गरिएको छ । खोजविन समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, बेसीशहर नगरपालिका र कोलेनिका र अस्पतालका मेडिकल सुपरिटेन्डेन रहेका छन् । अस्पतालको जग्गा खोजबिन समितिले अध्ययन गरी अस्पताल व्यवस्थापन समक्ष प्रतिवेदन समेत बुझाइ सकेको छ ।
अस्पतालको जग्गा खोजबिन समितिको प्रतिवेदनको साराशं
खोजबिन समितिले बुझाएको प्रतिवेदनमा तत्कालिन लमजुङ जिल्ला अस्पतालको नाममा दर्ता कायम भएको बेसीशहर गाविस वडा नं १ को कित्ता नं ८२ क्षेत्रफल १६ रोपनी १० आना २ दामको आवादी जग्गा मध्ये उत्तर पूर्व तर्फ १३ आना ३ पैसा २ दाम क्षेत्रफल जग्गामा रेडक्रस शाखा लमजुङले भवन बनाई उपभोग गरिरहेको पाइयो । त्यस्तै कित्ता नं ८३ क्षेत्रफल ७ रोपनी ४ आना १ पैसा २ दुई मध्ये ६ रोपनी जति जग्गामा स्वास्थ्य कार्यालय लमजुङले भवन निर्माण तथा कम्पाउण्ड गरी प्रयोग गर्दै आएको प्रत्यक्ष फिल्डमा देखिन आयो भनि उल्लेख गरिएको छ ।

त्यस्तै गरी प्रतिवेदनमा नेपाल रेडक्रस सोसाइटी २०४५ साल चैत को ३ गते तत्कालिन श्री ५ को सरकार (सचिव स्तर) बाट जग्गा दिने निर्णय भएबमोजिम नेपाल रेडक्रस सोसाइटीको गोदामघर र कार्यालय सञ्चालन हुँदै आइरहेको उल्लेख गरिएको छ ।
२०४५ सालमा रेडक्रस सोसाइटीले अस्पतालकै स्वामित्व रहने गरी ब्लड बैंक सञ्चालन गर्ने भनी करिब १ रोपनी जग्गा प्रयोग गर्दै आइरहे पनि ३५ वर्ष सम्म कुनै ब्लड बैकं स्थापना नगरेको र जुन कार्यका लागि सहमति भएर भवन बनाउन दिइएको हो त्यसको पालना नगरी उल्टो उक्त भवनबाट ३५ वर्ष सम्म घर बाहल उठाएर रेडक्रसले नै उपभोग गर्दै आएको देखिन्छ भनी उल्लेख गरिएको छ ।
त्यस्तैगरी अस्पतालको नाममा रहेको जग्गाको १३ रोपनी जग्गा उपभोग गर्दै आइरहेको जनस्वास्थ्य कार्यालय लमजुङले पठाएको पत्रबाट विगतमा अस्पताल र साविक जनस्वास्थ्य कार्यालय एउटै कार्यालयको रुपमा रहेको र के कसरी, कहिले र कुन प्रक्रिया अन्र्तरगत अस्पतालको जग्गामा भवन निमार्ण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको खोजविन समितिले साउन २० अस्पताल व्यवस्थापन समितिलाई बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जग्गा बारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजगं तामाङको भनाई
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजगं तामाङले अस्पताल विस्तारको योजना भैरहदाँ भवन बनाउन ठाउँको अभाव भएकाले अस्पतालको जग्गाको खोजविन सुरु गरिएको बताउनुभयो । अस्पतालको नाममा रहेको जग्गा हालसम्म कसैले खोजविन नगरेपनि अबका दिनमा खोजी गरी जग्गा बिसुद्ध अस्पतालले नै प्रयोग गर्ने अध्यक्ष तामाङको भनाइ छ ।
गतवर्ष देखि जिल्ला अस्पताल प्रदेश सरकारको माताहातमा संचालन हुन थालेको र अस्पतालका सेवाहरु तथा शैयाहरु विस्तार गरिदै लगेकोले डिपार्टहरु साधुरो भएका बताइएको छ । अस्पतालमा रहेको डेन्टल सेवा, आँखा, प्रशासकिय भवन लगायतका कक्ष साधुँरो भएको र छिट्टै ब्लडबैंक सुरु गर्ने योजना रहेकाले त्यसका लागि पनि भवन निमार्ण आवश्यक भएकाले अस्पतालको नाममा रहेको जग्गा अस्पतालले नै प्रयोग गर्न पाउनुपर्ने अध्यक्ष तामाङको दावी छ ।
ब्लड बैंक संचालन गर्ने भनेर २०४५ साल देखि रेडक्रसले भवनको भाडा उठाएर उपभोग गर्दै आएपनि अहिले सम्म कुनै ब्लड बैकं संचालन नगरेकोले जुन प्रयोजनको लागि जग्गा प्रयोग गरेपनि त्यो कार्य हुन नसकेपछि अव अस्पतालले नै त्यो जग्गा प्रयोग गर्ने र छिट्टै ब्लड बैक स्थापना गर्ने लक्ष्य रहेको तामाङको भनाई छ ।
अस्पतालको नाममा रहेको जनस्वास्थ्य कार्यालयले प्रयोग गरिरहेको जग्गा कसले कहिले प्रदान गरेको हो भनेर कहि कतै अभिलेख नभएको तामाङले बताउनुभयो ।
स्वास्थ्य कार्यालय लमजुङको भनाई
स्वास्थ्य कार्यालय लमजुङको हाल भैरहको भवन जिल्ला अस्पताल लमजुङकै नाममा रहेको छ । अस्पतालले नै दिएर जनस्वास्थ्यको भवन बनाईए पनि लिखित रुपमा कुनै प्रमाण भने नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । २०५८ साल देखि जिल्ला अस्पताल एचडिसिएसले जिम्मा लिएर संचालन गर्न थालेपछि अस्पतालको जग्गा जमिन लगाएतको संरक्षण स्वास्थ्य कार्यालयले नै गर्दै आएको स्वास्थ्य कार्यलयका प्रमुख प्रविण खनालले बताउनुभयो ।

जिल्ला मालपोत कार्यालय लमजुङबाट जग्गाको लालपूर्जा प्रतिलिपी भएपनि जग्गा भने अस्पताल कै नाममा रहेको बताइएको छ । २०५७ सालभन्दा अघि जिल्ला अस्पताल र साविकको जनस्वास्थ्य कार्यालय एउटै कार्यालयमा रहेको थियो । बर्तमान अवस्थामा पनि गण्डकी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्र्तगत पर्ने हुनाले र दुवैले स्वास्थ्य क्षेत्रमा नै काम गर्ने हुनाले यहाँ मात्रै नभइ देशका प्राय सबै जिल्ला अस्पतालको सगँै स्वास्थ्य स्वास्थ्य कार्यालयको भनाई छ ।
जिल्ला रेडक्रस कार्यालय लमजुङको भनाई
अस्पतालको जग्गा खोजबिन समितिले रेडक्रस सोसाइटी लमजुङ शाखालाई जग्गाको बारेमा समेत जानकारी गराएको छ । त्यसपछि अस्पतालको स्वामित्वमा रहेको उक्त जग्गा २०४५ साल १२ महिना ३ गते सचिब स्तरको निर्णयबाट भएको पत्र नै अस्पतालमा पठाएर जानकारी गराइएको रेडक्रसका सभापती ऋषिराम घिमिरेले बताउनुभयो । तत्कालिन सरकारले गरेको निर्णयको बारेमा हामीले केहि बोल्न नमिल्ने सभापती घिमिरेले नयाँ दीपलाई बताउनुभयो ।

तत्कालिन समयमा प्राप्त भएको जग्गामा बनेको भवनमा सोसाइटीको गोदामघर र कार्यालय संचालन भैरहेको रेक्रसका शाखा अधिकृत श्रीकान्त घिमिरेले बताउनुभयो ।
रेडक्रसको आफ्नै नाममा समेत दुई तले भवन रहेको छ । बेसीशहरको भिमसेन स्थान मन्दिरको अगाडी रहेको भवन भाडामा दिइएको छ । त्यस भवनबाट आउने मासिक ३२ हजार रुपँैया भाडाको रकम र सदस्य शुल्कबाट आउने शाखा तर्फ कार्यरत २ जना कर्मचारीको तलब तथा कार्यालय व्यवस्थापनमा खर्च गरिँदै आएको कार्यालयले जनाएको छ ।
रेडक्रस केन्द्रको स्वीकृतीमा २०६४ सालमा ब्लड बैंकको सुरुवात गरेको भएपनि जम्मा गरिएको रगत अस्पतालमा खपत हुन नसकी खेर गएकाले तत्कालिन समयमा ब्लड बैकं बन्द गरिएको बताइएको छ । अस्पताललाई रगत आवश्यक परेको बेलामा हरबखत रेडक्रसले ब्लड डोनेसनका लागि रक्तदाताहरु पठाएर सहयोग गर्ने गरेको कार्यालयले जनाएको छ ।
रेडक्रस संस्था पनि मानविय र स्वाथ्य क्षेत्रमा काम गर्ने संस्था भएकाले अस्पताल र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु गर्दै आएको कारण पनि यी संस्थाहरु एक अर्काका परिपूरक भएकाले एक अर्कामा टाढा भएर रहन नसक्ने रेडक्रस शाखा लमजुङले जनाएको छ ।