
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले तिहार, छठलगायतका चाडपर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रशासनले देउसीभैलो बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न र प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा चाडपर्वका नाममा मादक तथा लागुपदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न, सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा नगर्न र अरूको अधिकारमा असर नपर्ने गरी चाडपर्व मनाउन आग्रह गरिएको छ।
त्यस्तै, पटका, आतसबाजीलगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थको आयात, ओसारपसार र बिक्री वितरण नगर्न तथा नगराउन प्रशासनले सचेत गराएको छ।
यसैगरी, वातावरणमैत्री र स्थानीय फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न प्रशासनले प्लास्टिकजन्य फूलमाला, खादा तथा अन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेको छ। नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) अनुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा रोक लगाइएको सूचनामा उल्लेख छ।
प्रशासनले प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्री वितरण, ओसारपसार वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ। बजार अनुगमनका क्रममा त्यस्ता सामग्री बिक्री वितरण गरेको पाइएमा जफत गरी जरिवाना हुने चेतावनीसमेत दिइएको छ।
चाडपर्वलाई सामाजिक सद्भाव, भाइचारा र आपसी एकताका साथ मनाउन तथा स्थानीय रूपमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोग गर्न प्रशासनले सरकारी, निजी, गैरसरकारी कार्यालय तथा आम जिल्लावासीलाई अनुरोध गरेको छ।










