शिक्षा दिवसमा उत्कृष्ट नतिजा ल्याउने १७ विद्यार्थी सम्मानित

-


     नयाँ दीप    
     असाेज २ गते २०८३ मा प्रकाशित


लमजुङ । राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा बेसीशहर नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई सम्मान गरेको छ।

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आधारभूत तहस्तरीय परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो।

कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउने ४ जनासहित ६ जना, एसईईमा ४ जीपीए ल्याउने ५ जनासहित ७ जना र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने ४ जना गरी १७ विद्यार्थीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोजसिंह बोहरा, सामाजिक विकास समिति संयोजक एवं वडा नं. २ का वडाध्यक्ष मदन राना, नगर प्रवक्ता हिरालाल विश्वकर्मालगायतको उपस्थिति थियो।

कार्यक्रममा नगर शिक्षा समितिका सदस्य, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सम्मानित विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले गर्नुभएको थियो।