मध्यनेपाल नगरपालिकाबाटै करदाता सेवा, अब दमौली धाउनुपर्ने बाध्यता घट्ने

-


     नयाँ दीप    
     असाेज १ गते २०८३ मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाको कार्यालयबाटै करदाता सेवा प्रवाह सुरु गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौलीसँग भएको समझदारीपत्र अनुसार नगरपालिकाले २०८३ असोज ९ गतेदेखि करदाता सेवासम्बन्धी काम सुरु गरेको हो।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार अब नगरवासीले नगरपालिकाको कार्यालयबाटै स्थायी लेखा नम्बर जारी गर्ने, व्यवसायलाई आयकरमा दर्ता गर्ने, कारोबार थप गर्ने तथा प्यान दर्तासम्बन्धी संशोधन गर्न सक्नेछन्। त्यस्तै, दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने सेवासमेत नगरपालिकाबाटै उपलब्ध हुनेछ।

नगरपालिकाका अनुसार माथि उल्लिखित सेवाका लागि आवश्यक परे आन्तरिक राजस्व कार्यालय दमौलीको सिफारिस लिनुपर्नेछ। करदाताले चाहेमा आन्तरिक राजस्व कार्यालय दमौलीबाट साविककै प्रक्रियाअनुसार सिधै सेवा लिनसमेत सक्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले स्थानीयस्तरमै करदाता सेवा उपलब्ध गराउन थालेपछि प्यान तथा आयकर दर्तासहितका सामान्य करसम्बन्धी कामका लागि दमौली पुग्नुपर्ने सेवाग्राहीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले आज असोज १ गतेबाट करदाता सेवा प्रवाह को शुरूवात भएको जानकारी दिँदै यसले मध्यनेपाल बासी लाई प्रत्येक्ष फाइदा मिल्नेछ भन्ने विश्वास लिएको बताउँदै छिट्टै मालपोत र नापी सेवा शुरु हुने कुरा जानकारी गराउनुभएकोे छ ।