सुरुङभित्र फसेकाको उद्धारमा खटिएका सागर ढकालमाथि ‘विदेशी एजेन्ट’ आरोपको दिए जवाफ

-


     नयाँ दीप    
     भाद्र २९ गते २०८३ मा प्रकाशित


रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा सांसद एवं इन्जिनियर सागर ढकाल निरन्तर खटिरहेका छन्। जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच उनी प्राविधिक टोलीसँगै उद्धार कार्यमा सक्रिय छन्।

जलविद्युत्, पानी तथा पूर्वाधारसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका ढकाल विपद्का बेला राजनीतिक भूमिकाभन्दा प्राविधिक ज्ञान र अनुभवलाई प्रयोग गर्दै उद्धारमा जुटेका हुन्। सुरुङभित्र फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने प्रयासमा उनीसहितको टोली लामो समयदेखि घटनास्थलमै रहेर काम गरिरहेको छ।

तर, उद्धार अभियानमा सक्रिय भइरहेका बेला सामाजिक सञ्जालमा भने ढकाललाई लक्षित गर्दै विभिन्न आरोप र आलोचना पनि भइरहेका छन्। विशेषगरी उनलाई ‘विदेशी एजेन्ट’ तथा ‘अमेरिकाको एजेन्ट’ भन्दै प्रश्न उठाउने र आरोप लगाउने अभिव्यक्तिहरू सामाजिक सञ्जालमा देखिएका छन्।

यस्ता आरोपप्रति ढकालले भने आक्रोशभन्दा पनि आफ्नो काम र मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। आफू जोखिमपूर्ण अवस्थामा रातदिन उद्धार कार्यमा खटिएको उल्लेख गर्दै उनले विपत्तिको समयमा नकारात्मकता फैलाउनेभन्दा उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

उनले आफूले विभिन्न देशमा अध्ययन तथा काम गरेको पृष्ठभूमिलाई आधार बनाएर ‘एजेन्ट’को आरोप लगाइए त्यसलाई व्यंग्यात्मक शैलीमा खण्डन गरेका छन्। चीन, रुस, भारतलगायत विभिन्न देशसँग आफ्नो व्यावसायिक तथा अध्ययनसम्बन्धी सम्बन्ध रहेको उल्लेख गर्दै उनले आफूलाई जुनसुकै देशको एजेन्ट भने पनि हुने आशय व्यक्त गरेका छन्।

ढकालले अहिले आफ्नो सम्पूर्ण ध्यान सुरुङभित्र फसेका व्यक्तिहरूको जीवन बचाउनेतर्फ केन्द्रित रहेको बताएका छन्। सम्भव भए जीवित उद्धार गर्न सकिए त्यो विश्वकै लागि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ।

उद्धार अभियान सकिएपछि आफूविरुद्ध उठेका प्रश्न र आलोचनाको जवाफ दिन तयार रहेको बताउँदै उनले विपत्तिको समयमा राजनीतिक वा व्यक्तिगत नकारात्मकताभन्दा मानवीयता र सहयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

सागर ढकालको फेसबुकबाट जस्ताको तस्तै:

” रातभरि काम, विदेशी मिडियामा आएका कुराको खण्डन ”

रातभरि नसुतिकन खोला किनारमा जीवन उद्धारको काम गरेका छौँ। सुत्ने बढीमा २(४ घण्टा हो, १८ं दिन भयो, शरीरमा घाउ र बिबिरा आएका छन्, खुट्टा लेदोले खाएर घाउ भएको छ। सुत्न सकेका छैनौँ, फिल्ड छोड्न नै सकेका छैनौँ। राति अलिकति केही कुरा बिग्रियो भने मनमा पाप नै गरियो कि जस्तो हुन्छ। भित्र जीवित ६ जना भगवान् हुनुहुन्छ, सकेको धर्म गर्ने हो भनेर लागेको छु। विडम्बना, यसरी काम गर्दा पहिले स्वदेशीहरूले सकेसम्म खुट्टा ताने, अहिले भने विदेशी मिडिया नै लागेका छन्। देश विपत मै भएका बेला इन्टरनेट मै भएका रिपोर्टहरु लाई तोडमोड गरी गलत भास्य निर्माण गर्न खोज्नु यो उपयुक्त समय होइन। यसको जवाफ म कता आएर दिनु पर्ने हो म तयार छु।

मलाई किन अमेरिकाको मात्र भन्छौरु सकिन्छ भने चिनियाँ एजेन्ट पनि भन, चीनको मन्त्रालय अन्तर्गत बसेर काम गरेको छु, चिनिया रिपोर्ट अनलाइनमै छ। किर्गिस्तानमा काम गरेको छु, रसियन एजेन्ट भन। भारतमा ६ महिना योग,ध्यान सिकेको छु, भारतले नेपालभरि बाट २५ जना इन्जिनियर लाई दिने अवार्ड पनि दिएको छ, भारतीय एजेन्ट भन। के, के प्रमाण चाहिने हो, अफ्रिकादेखि युरोप र एसियाका प्रत्येक देशमा काम गरेको रिपोर्ट नै बुझाउन तयार छु।

तर यसरी जोखिम मोलेर टेन्ट र फिल्डमा खोला किनारमा पानीमा भिज्दै विशुद्ध मानव धर्म पालन गर्दा विदेशी मिडियालाई मानवता देखाउन अनुरोध गर्दछु। खुट्टै तान्नु परे पनि यो उद्धार सकेपछि तान्न विदेशी र स्वदेशी मिडियालाई हार्दिक अनुरोध गर्दछु। यस्तो दैवी विपत्ति पर्दा झन् दुःख दिनुभन्दा सकिन्छ भने सहयोग गरिदिनुस्, सक्दै सक्नुहुन्न भने पनि नकारात्मकता नफैलाइदिनुहुन अनुरोध गर्दछु। हाम्रो सम्पूर्ण समय नकारात्मकतासँग होइन दैवि प्रकोप सँग लड्न चाहन्छौँ। सहयोग गरिदिनु होला। म हरेक कुरामा सकारात्मकता खोज्छु, मेरो प्रतिष्पर्धी कसैलाई १ सब्द गाली गर्दिन चाहे त्यो प्रदिप ज्ञवाली हुन् चाहे चन्द्र भण्डारि। मेरो प्रतिष्पर्धी शेरबहादुरलाई शुध्द उहाँकै गाउँमा उहाँकै समर्थकहरुका बिचमा लाइनमा बसेर मालाले स्वागत गर्ने मान्छे हुँ।

नकारात्मकता र गालि एकछिन हिट होला तर दिर्घकालिन शान्ति र विकासको लागि सकारात्मक नै अचुक अश्त्र हो भन्नेमा म दृढ विश्वास गर्छु। जिवनभरि सात्विक जिवन शैलि अपनाएको छु, शात्विक नै सोच्छु। सकारात्मकता सोच्छु र त्यही नै फैल्याइदिन अनुरोध गर्दछु। सम्भवतः हामीले जीवित उद्धार गर्न सक्यौँ भने विश्वलाई नै झक्झक्याउने काम हुनेछ। योभन्दा ठूलो धर्म जीवनमा अरू केही पनि हुँदैन भनेर काम गरेका छौँ। ६ जनालाई जीवित उद्धार गर्न व्यग्र प्रतीक्षामा छौँ, प्रार्थना गरिरहेका छौँ। हजुरहरूको भरपूर सहयोगको अपेक्षा गरेका छौँ। अरुले जे जे भनेपनि भगवान्‌रुपी जनताले निष्पक्ष न्याय गर्नेछन् भन्नेमा म ढुक्क भएर काम गर्दै छु।