
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि लमजुङको बेँसीसहर नगरपालिका–५, नाल्माका चित्रजङ्ग गुरुङले रु.१ लाख सहयोग गरेका छन्।
बेलायती सेनाबाट अवकाशप्राप्त तथा व्यवसायी गुरुङले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषको आधिकारिक क्यूआर कोडमार्फत उक्त रकम सहयोग गरेका हुन्।
नाल्माका हरेक सुख–दुःखमा साथ दिँदै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका गुरुङले देश नै विपद्मा परेको कठिन परिस्थितिमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा राहत तथा उद्धारका लागि देश–विदेशबाट सहयोग जुटिरहेको छ। यही क्रममा गुरुङको सहयोग पनि मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।
विपद्को समयमा हरेक नागरिकले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने सन्देश दिँदै उनको यो पहलले अन्य व्यक्ति तथा समुदायलाई समेत पीडितको सहयोगमा जुट्न प्रेरणा दिने विश्वास गरिएको छ।









