
लमजुङ । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेका ज्येष्ठ सुपुत्र इन्जिनियर इन्दिवर घिमिरे सम्पर्कविहीन भएका छन्।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर घिमिरे बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ। बाढीका कारण आयोजनाको क्षेत्रमा क्षति पुगेपछि उनको अवस्थाबारे परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार इन्दिवरको खोजी तथा उद्धार भइरहेको छ। परिवारले उनी सकुशल भेटिने आशा व्यक्त गरेको छ।
इन्दिवर घिमिरेको पुर्ख्यौली घर लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा हो। उनी पछिल्लो समय काठमाडौं महानगरपालिका–२६, कपुरधारामा बस्दै आएका थिए।









