लमजुङमा पिङ भाँचिँदा तीन जना घाइते

-


     नयाँ दीप    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिका–१० बरदानमा पिङ खेल्ने क्रममा पिङ भाँचिँदा तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब २ः४५ बजे २४ पिर्के पिङ खेल्ने क्रममा अचानक पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–११ कैलाशटोलकी २७ वर्षीया अन्जु राना, ३५ वर्षीया मुना थापा र तनहुँको व्यास नगरपालिका–१ भादगाउँका ४० वर्षीय ज्ञानेन्द्र सुनार घाइते भएका छन्।

घाइतेमध्ये अन्जुको हात, खुट्टा र कम्मरमा चोट लागेको छ भने मुनाको कम्मर र ढाडमा चोट लागेको छ। त्यस्तै, ज्ञानेन्द्रको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। तीनै जनाको अवस्था मध्यम रहेको छ।


घाइतेहरूलाई उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल लगिएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ।