छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

-


     नयाँ दीप    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित


आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई एक छाक खाने चलन छ। दोस्रो दिन खरना विधिअन्तर्गत सखरमा पकाइएको खीर छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ।

पर्वको मुख्य दिन आज व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने गर्छन्। रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ।

केही वर्षअघिसम्म तराई–मधेशका सीमित क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय देशका विभिन्न भागमा समेत लोकप्रिय बन्दै गएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका नदी, पोखरी तथा जलाशयलाई छठ पूजाका लागि सजाइएको छ।

छठ पर्वका अवसरमा सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ।