बाढीपीडितको घाउमा मलम लगाउन राहत सामग्रीसहित रसुवा प्रस्थान गर्यो लमजुङको लायन्स क्लब

-


     नयाँ दीप    
     भाद्र १७ गते २०८३ मा प्रकाशित


लमजुङ। विपद्को पीडामा परेका रसुवाका बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ लायन्स क्लब अफ लमजुङ ‘टुगेदर वी क्यान’ को टोली राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। गत भदौ १० गते आएको भिषडा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले क्लबको टोली प्रभावित क्षेत्रतर्फ गएको हो।

क्लबका सदस्यहरू तथा लमजुङका मनकारी व्यवसायीहरूबाट संकलन गरिएको राहत सामग्री बोकेर टोली आफैं रसुवा तर्फ प्रस्थान गरेको हो ।
विपद्को यो कठिन घडीमा राज्यको प्रयासका साथै नागरिक तथा सामाजिक संस्थाहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले आफूहरूले सक्दो सहयोग जुटाएर राहत अभियान सुरु गरेको क्लबकीपार्वती कुँवरले बताउनुभयो। विपद परेका नागरिकलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु प्रत्येक नागरिकको मानवीय दायित्व हो, उहाँले भन्नुभयो, हाम्रो यो सानो प्रयासले बाढीपहिरो प्रभावितहरूको घाउमा थोरै भए पनि मलम लगाउन मद्दत पुग्नेछ।

बेसीशहरमा पुलिस्ता बेबी ल्याण्ड सञ्चालक एवं क्लबकी सदस्य पार्वती कुँवरले आफ््नै पसलमा भएका व्यक्तिगत तर्फबाट रु. १ लाख ८० हजार भन्दा बढी मूल्य बराबरका आवश्यक सामग्रीहरू बाढीपीडितका लागि सहयोग गर्नुभएको छ।

क्लबको टोलीले रसुवा पुगेर त्यहाँका आवश्यकताअनुसार बाढीपहिरोबाट अति प्रभावित परिवारहरूलाई प्रत्यक्ष रूपमा भेटेरै राहत सामग्री हस्तान्तरण गर्ने जनाएको छ।