
नुवाकोेट विदुर । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग पुर्याउन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले अभियान सञ्चालन गरिरहेको छ।
बाढीका कारण विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ५ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न, त्रिपाल, कपडा तथा हाइजिन किट वितरण गरिएको एचडीसीएसले जनाएको छ।
संस्थाले स्थानीय अस्पताल तथा जनस्वास्थ्य कार्यालयको क्षमता अभिवृद्धिका लागि ह्विलचियर, मास्क, पन्जा, कुर्सी, त्रिपाललगायत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ।
त्यसैगरी अस्पतालका निर्देशक हेमन्त श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय मेडिकल टोलीले प्रभावित क्षेत्रमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको छ भने मनोविमर्शदाता शोभा ठकुरीको नेतृत्वमा ४ सदस्यीय टोलीले होल्डिङ सेन्टरमै पुगेर बाढीपीडितलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श तथा सहयोग दिइरहेको छ।

एचडीसीएसका अनुसार हालसम्म ४ सय ५० जनाभन्दा बढी बाढीप्रभावितले निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श प्राप्त गरिसकेका छन्।
विपद्को समयमा राहत सामग्रीसँगै स्वास्थ्य र मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको भन्दै एचडीसीएसले प्रभावित क्षेत्रमा अवस्था सामान्य नहुँदासम्म राहत, उपचार र मनोसामाजिक परामर्श सेवा निरन्तर सञ्चालन गर्ने अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले बताउनुभएको छ ।









