भोटेकोसीको बाढीपछि मर्स्याङ्दी करिडोरमा पूर्वसावधानी, सेन्सर र साइरन जडान

-


     भरत बाबु घिमिरे     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न गाउँ तथा बस्तीमा ठूलो क्षति पुर्‍याएपछि लमजुङको मर्स्याङ्दी करिडोरमा पनि सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वसावधानी अपनाइएको छ।

मनाङबाट लमजुङ हुदैँ बग्ने मर्स्याङ्दी नदीमा अचानक आउन सक्ने बाढी तथा अन्य जोखिमपूर्ण अवस्थाबाट स्थानीय नागरिकलाई समयमै सचेत गराउन करिडोरका विभिन्न जोखिम युक्त क्षेत्रमा अत्याधुनिक सेन्सर तथा साइरन प्रणाली जडान गरिएको हो।

दिव्यज्योति हाइड्रोपावर लिमिटेडले मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाअन्तर्गत प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा केही महिनाअघि नै उक्त प्रणाली जडान गरेको जनाएको छ। भोटेकोसीमा बाढीपछि भएको ठूलो क्षतिलाई समेत ध्यानमा राख्दै मर्स्याङ्दी करिडोरमा आकस्मिक बाढीबाट हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न यस्तो पूर्वसावधानीलाई थप महत्वपूर्ण मानिएको छ।

जडान गरिएको प्रणालीले नदीको पानीको सतह तथा आयोजनासँग सम्बन्धित संवेदनशील अवस्थाको निरन्तर निगरानी गर्नेछ। पानीको सतह पूर्वनिर्धारित जोखिमको तहमा पुगेपछि सेन्सरले स्वचालित रूपमा प्रणाली सक्रिय गरी साइरन बजाउने व्यवस्था गरिएको छ।

साइरन बजेसँगै आयोजना परिसरमा कार्यरत कर्मचारी तथा नदी आसपासका बस्तीका नागरिकले तत्काल श्रव्य चेतावनी पाउनेछन्। यसबाट बाढी आउनुअघि नै स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ जान, आवश्यक सतर्कता अपनाउन तथा उद्धार र आपत्कालीन प्रतिकार्यका लागि तयारी गर्न पर्याप्त समय मिल्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार भुलभुले, सिमलचौर, खुदी, सिम्पानी, बेलौती–बिसौनी, चनौटे, भोटेफाँट तथा बेँसीसहर आसपासका जोखिमयुक्त क्षेत्रमा सेन्सर तथा साइरन प्रणाली जडान गरिएको हो।

अचानक आउने बाढीबाट हुने क्षति पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वसूचना पाएर समयमै सचेत र सुरक्षित हुन सके मानवीय क्षति न्यूनीकरण गर्न सकिने भएकाले यस्तो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ।

भोटेकोसीको घटनाबाट पाठ सिक्दै मर्स्याङ्दी करिडोरमा अपनाइएको यो पूर्वसावधानीले बाढी आइहालेको अवस्थामा समेत स्थानीय नागरिकलाई समयमै सूचना प्राप्त गरी आफ्नो ज्यान तथा सम्पत्तिको सुरक्षाका लागि आवश्यक कदम चाल्न सहयोग पुग्ने विश्वास गरिएको छ।