
लमजुङ । रसुवाको बाढी–पहिरोबाट उद्धार गरी काठमाडौं ल्याइएका लमजुङका ११ जना नागरिकलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको छ। उनीहरूलाई काठमाडौंमा खाना तथा बसोबासको व्यवस्था गरी आवश्यक लत्ताकपडासहित सुरक्षित रूपमा लमजुङतर्फ पठाइएको हो।
माथिल्लो त्रिशूली जलविद्युत् आयोजना क्षेत्रमा बाढी–पहिरोका कारण फसेका उनीहरूलाई समन्वय तथा उद्धार टोलीको अथक प्रयासपछि हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको थियो। त्यसपछि सम्बन्धित कम्पनीको व्यवस्थापनमा काठमाडौं ल्याई उनीहरूको खानाबस्ने व्यवस्था गरिएको थियो।
लमजुङबाट प्रतिनिधिसभा सदस्य धर्मराज केसीका तर्फबाट खटिएको टोलीले काठमाडौंमा उनीहरूसँग भेट गरी स्वास्थ्य तथा अवस्थाबारे जानकारी लिएको थियो। टोलीले आवश्यक लत्ताकपडा उपलब्ध गराउनुका साथै सुरक्षित रूपमा घर फर्कने व्यवस्था मिलाएको थियो। उद्धार गरिएका उनीहरू अहिले लमजुङतर्फ आइसकेका छन्।

सांसद केसीको समन्वय तथा उद्धार टोलीका भोला शर्मा, माधव दवाडी, सन्देश पन्त, सविता अधिकारी बराल र शर्मिला विकलगायतको टोलीले उद्धार गरिएका नागरिकको आवश्यकताअनुसार सहयोग गरेको जनाएको छ।
लमजुङबाट प्रतिनिधिसभा सदस्य धर्मराज केसीले दिएको जानकारीअनुसार रसुवामा अझै प्रभावित अवस्थामा रहेका नागरिकको खोज तथा उद्धार, राहत, पुनःस्थापना तथा मृतकको पहिचान र व्यवस्थापनका लागि टोली दिनरात खटिरहेको छ।
उनका अनुसार नदीमा पुनः आउन सक्ने बाढीको जोखिमलाई ध्यानमा राख्दै २४ सै घण्टा अनुगमन तथा पूर्वसूचना दिन टिमुरे र त्यहाँबाट करिब ७ किलोमिटर तल गरी दुई स्थानमा surveillance system जडान गर्ने तयारीसमेत गरिएको छ। त्यसका लागि आवश्यक सामग्री र प्राविधिक टोली पठाइएको छ।
रसुवा क्षेत्रमा रहेका लमजुङका बाँकी नागरिकको समेत यथाशीघ्र सकुशल उद्धार गरी आफन्तसम्म पुर्याउने कार्यलाई प्राथमिकतामा राखेर निरन्तर पहल भइरहेको केसीले बताएका छन्।









