
उबेला वर्षे बिदाको महत्व छुट्टै हुन्थ्यो, जुन आज पनि स्मृतिमा ताजै रहेको छ। जेठको अन्तिमतिर परीक्षा सकिएलगत्तै असारदेखि साउनको अन्त्यसम्म गरी करिब दुई महिना लामो वर्षे बिदा हुन्थ्यो। भदौ १ गतेबाट मात्र विद्यालय खुल्थ्यो।
बिदा सुरु भएलगत्तै सुरु हुन्थ्यो हाम्रो दुई महिनाको वर्षे बिदाको दिनचर्या। ग्रामीण परिवेश र कृषि नै मुख्य आयस्रोत भएकाले असार र साउनलाई विशेष महत्व दिइन्थ्यो। माना रोपेर मुरी उब्जाउने बेला भएकाले बालकदेखि वृद्धसम्म सबैका आ–आफ्नै कार्य विभाजन हुन्थे।
घरभन्दा पल्लो गाउँमा रहेको सरस्वती मिलन प्राथमिक विद्यालयमा हामी अध्ययन गर्थ्यौं। त्यतिबेला बोर्डिङ स्कुल कहाँ पाउनु! अङ्ग्रेजी माध्यमको त झन् के कुरा! कक्षा चारमा पुगेपछि मात्र ABC सिकेका हामीले आजको अवस्था देख्दा लोभ लाग्छ।
त्यतिबेला हेडसरका रूपमा रुद्रबहादुर अधिकारी सर हुनुहुन्थ्यो। लुइटेल स्कुल पढेर आउनुभएका उहाँ कडा अनुशासन र मिजासिलो स्वभावका हुनुहुन्थ्यो। उहाँ त्यतिबेलाका प्रख्यात शिक्षक हुनुहुन्थ्यो, जसलाई आज पनि हामी गुरुको उच्च स्थानमा राख्छौं। उहाँसँगै विष्णुबहादुर अधिकारी सर, बलिवन्त गिरी सर र गोविन्द सरले हामीलाई पढाउनुहुन्थ्यो।
हाम्रो गाउँबाट विग्रह स्कुल जानेको ताँती निकै लामो हुन्थ्यो। त्यस ताँतीमा म, तिर्थे, विष्णु, नयाँघर मसिनी, नयाँघर कान्छो, हरि, गल्लीमाथि सोबिता, सुनिता, दुर्गे, सुशीला तथा खरखरेबाट ढोडे (धनबहादुर), लिँडे (तिर्थबहादुर), काली, सुन्तली, असारी लगायत हामीभन्दा साना भए पनि राजेन्द्र, खेम, लोके आदिसमेत सँगै हिँड्थे।
स्कुल छुट्टी भएपछि गृहकार्य खासै हुँदैनथ्यो। त्यसैले ड्रेस र झोला घरको कुनै कुनातिर मिल्काएर सुरु हुन्थ्यो हाम्रो वर्षे बिदाको यात्रा।
गाउँमा मकै रोप्ने प्रचलन भएकाले प्रायः हाम्रो ड्युटी मकैबारीमा बाँदर धपाउने र घाँस काट्ने हुन्थ्यो। बाँदरको आतंक पनि निकै थियो। विशेषगरी जेठ महिनादेखि मकै नपाकुञ्जेलसम्म यही काम हाम्रो दैनिकी बन्थ्यो।
घरभन्दा तल बेँसीमा हाम्रो, तिर्थको, सुशीलको, नयाँघर कान्छाको, विष्णु लगायत सबैका खेतमा मकै भएकाले बिहानदेखि साँझसम्म प्रायः हाम्रो बास त्यतै हुन्थ्यो। आँखेतको चौतारो सबैको जक्सन थियो। त्यहाँ लोकभतिजको एउटा धनसार थियो। पानी पर्दा त्यहीँ ओत लाग्ने र मकै पोलेर खाने गरिन्थ्यो।
त्यो चौतारो गाउँदेखि तार्दीखोला पारि राइनासतर्फ जाने मुख्य बाटो थियो। त्यसैले त्यहाँ थकाइ मार्ने मानिसहरूको सधैंजसो भीड लाग्थ्यो। यही चौतारामा भोक लाग्दा खनायो नुनसँग खाने, साजबोटेबाट आँप चोरेर खाने, बुद्धिचालदेखि चोर–पुलिससम्मका खेल खेल्दै दिन बित्थे।
कहिलेकाहीँ खेलमा यति रमाइन्थ्यो कि बाँदरले बारीमा मकै खाइदिँदा घरमा आमाबाट पिटाइ पनि खाइन्थ्यो। घाँस काट्न बिर्सिएर बेलुका रित्तै घर फर्केको पनि याद छ।
मकै सकिएपछि धान रोपाइँ सुरु हुन्थ्यो। त्यसपछि हाम्रो काम घाँस काट्ने र बाख्रा चराउने हुन्थ्यो। बिहान–बेलुका घाँस काट्ने र दिउँसो बाख्रा चराउने हाम्रो दैनिक ड्युटी थियो। बाख्रा चराउने गोठालाहरूबीच निकै रमाइलो हुन्थ्यो। कहिले भिर्कुना, कहिले खरखरे, तुरतुरे, उपल्लो खरखरे, खौसारो, रातामाटे लगायतका ठाउँहरूमा बाख्रा चराउन जान्थ्यौं।
पाखाबारीमा मकै पाकेर कोदो रोप्ने बेला भएपछि बाख्रा चराउन अझ सहज हुन्थ्यो, किनकि त्यतिबेला सबैतिर छाडा हुन्थ्यो। बाख्रा चराउनुका साथै मकैबारी पन्छाउने र ढोड फाल्ने काम पनि हामीले नै गर्नुपर्थ्यो।
रोपाइँ सकेपछि बिस्तारै चाडपर्व पनि सुरु हुन्थे। साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा, कृष्णाष्टमी आदि वर्षे बिदामै पर्थे। त्यतिबेला चाडपर्वको महत्व नै छुट्टै थियो। नागपञ्चमीदेखि दिदीबहिनीहरू बेलुकी–बेलुकी तीजका भाका गुनगुनाउन थाल्नुहुन्थ्यो।
उ बेला बिजुली थिएन। टुकी र मट्टीतेलको बत्ती बालेर जमघट हुन्थ्यो। उता ठूला बा र दाइहरू भने घटना र विचार सुन्न तेजनारायण दाइको घरमा जम्मा हुनुहुन्थ्यो। टिभी र मोबाइलको त के कुरा गर्ने! ब्याट्रीबाट चल्ने रेडियो पनि सबैका घरमा हुँदैनथ्यो। सायद मास्टर भएकाले दाइको घरमा भने ब्याट्रीवाला रेडियो थियो।
हामी केटाकेटी भने कहिले तीजको गीत गाइरहेको ठाउँमा, त कहिले समाचार सुन्न जम्मा भएको ठाउँमा ओहोरदोहोर गरिरहन्थ्यौं। खुब रमाइलो हुन्थ्यो।
त्यतिबेला गाउँमा धान कम उत्पादन हुने भएकाले मकैको भात र लैना भैंसीको मोही निकै मिठो मानेर खाइन्थ्यो। अहिले जस्तो मम र चाउमिन कहाँ पाइन्थ्यो र! गाउँघरमा फलेका काँक्रा, नासपाती, खनायो र काँचो बेलौती खाएर पेट भरिन्थ्यो।
यसरी दुई महिना बिताउँदा स्कुल सुरु हुने बेला किताब, झोला र ड्रेसको अत्तोपत्तो हुँदैनथ्यो। मुसाले काटेको ड्रेस र पानीले भिजेको किताब भेटेर त्यसैलाई प्रयोग गरिन्थ्यो।
वर्षात्को समय भएकाले बाटो चिप्लो हुन्थ्यो। बल्ल–बल्ल किनेको चप्पल चुडिएपछि ल्याक्टो चकलेटको खोल तन्काएर लगाइन्थ्यो। छाताको त झन् के कुरा गर्ने! असारमा किनेको प्लास्टिक पनि च्यातिएपछि कर्कलोको पातलाई छाता बनाएर हिँडिन्थ्यो।
विद्यालयमा दिवा खाजाको व्यवस्था कहाँ थियो र! दिनभर पढ्दा अन्तिम पिरियडसम्म पुग्दा भोकले भुतुक्कै बनाउँथ्यो। छुट्टी भएपछि हतार–हतार घर आइन्थ्यो। घरमा पनि उही अवस्था—हामी स्कुलमा, आमा मेलापातमा। कसले बनाइदिने खाजा? अनि बारीमा जे देख्यो त्यही टिपेर भोक टारिन्थ्यो।
कहिलेकाहीँ घर फर्कंदा ठूलो वर्षाले खोल्साहरू बढेर तर्नै नसकिने हुन्थ्यो। त्यतिबेला नयाँघर कान्छु भने धुरुधुरु रुन्थ्यो। हामी भने उसलाई जिस्काएर रमाइलो गर्थ्यौं।
आज परिवेश फेरिएको छ। धेरै कुरामा परिवर्तन आएको छ। टुकी र मट्टीतेलको बत्तीलाई बिजुलीले विस्थापित गरेको छ। बेलाबेला समाचार सुन्ने रेडियोलाई मोबाइलले विस्थापन गरेको छ। अभावलाई सहज उपलब्धताले विस्थापन गरेको छ। ६० दिने वर्षे बिदा ३० दिनमा झरेको छ। उ बेला हुने रमाइला खेल र सामूहिकतालाई एकान्तले विस्थापन गरेको छ। गाउँघरमा जोडिएका मनहरूलाई सहरले विस्थापन गरेको छ।
सुविधाहरू धेरै बढेका छन्, तर मनहरू टाढिएका छन्। खुला आकाशबाट सिक्ने सिकाइ प्रणाली जबर्जस्त यान्त्रिक बनाइएको छ। पूर्वीय दर्शन, चिन्तन, संस्कार, परम्परा, रीतिरिवाज, मूल्य–मान्यता, सामाजिक सहिष्णुता र पारिवारिक प्रेम—सबै बदलिएका छन्।
संस्मरण
अनिल अधिकारी
हाल : भरतपुर–६, चितवन









