“भानु! फर्केर आऊ, शब्दहरू विलीन हुँदैछन्”

-


     नयाँ दीप    
     असार ३० गते २०८३ मा प्रकाशित


आदरणीय निर्णायकज्यूहरू…

आज म कविता लिएर आएको होइन।

म एउटा देशको हराउँदै गएको आवाज बोकेर आएको छु।

म एउटा आमाको आँखाभरि जमेको प्रतीक्षा बोकेर आएको छु।

म एउटा युवाको अधुरो सपना बोकेर आएको छु।

र…

म एउटा प्रश्न बोकेर आएको छु—

भानु! तिमीले लेखेको नेपाल कहाँ हरायो?

भानु!

फर्केर आऊ।

तिम्रो रामायण अझै पुस्तकका पानामा सुरक्षित छ।

तर…

रामको सत्य मानिसको व्यवहारबाट विलीन हुँदैछ।

भरतको त्याग सुविधाको भीडमा हराउँदैछ।

हनुमानको निष्ठा लोभको बजारमा बेचिँदैछ।

र…

सीताको धैर्य हरेक आमाको आँखाबाट आँसु बनेर झरिरहेको छ।

तिमीले शब्दलाई आत्मा बनायौ।

हामीले शब्दलाई नारा बनायौँ।

तिमीले भाषालाई संस्कार बनायौ।

हामीले भाषालाई आरोप र प्रत्यारोपको हतियार बनायौँ।

आज…

राजनीति सेवा कम, सत्ता धेरै देखिन्छ।

वाद धेरै सुनिन्छ, संवाद कम सुनिन्छ।

प्रतिज्ञा धेरै हुन्छ, विश्वास कम जन्मिन्छ।

कुर्सी बलियो हुँदै जाँदा नागरिक कमजोर हुँदै गएको देखिन्छ।

देशको नक्सा उही छ।

तर…

देशको मन दिनदिनै रित्तिँदै गएको छ।

भानु!

आज गाउँका चौतारी अझै उभिएका छन्।

तर त्यहाँ हाँसो छैन।

खेत अझै हरिया छन्।

तर हल समाउने हात छैन।

विद्यालय उभिएका छन्।

तर विद्यार्थीको सपना पढाइभन्दा पहिले विदेशको टिकट खोज्न थालेको छ।

आज…

सबैभन्दा लामो यात्रा तीर्थको होइन,

विमानस्थलको हो।

त्यहाँ…

एउटा छोरो आफ्नो देश छोड्छ।

तर…

सबैभन्दा पहिले आमाको अँगालो छुट्छ।

एउटी आमा…

हरेक बिहान आँगन बढार्छिन्।

हरेक साँझ ढोकातिर हेर्छिन्।

हरेक रात मोबाइल सिरानीमुनि राखेर सुत्छिन्।

फोन बज्छ।

“आमा… म ठीक छु।”

त्यो एउटा वाक्यमा

छोराले आफ्नो थकान लुकाउँछ।

आमाले आफ्नो रुवाइ लुकाउँछिन्।

फोन काटिन्छ।

घर फेरि मौन हुन्छ।

तर…

आमाको कान रातभरि ढोकाको आवाज सुन्दै बस्छ।

भानु!

आज हराएको युवा मात्र होइन।

हराएको विश्वास हो।

हराएको इमान हो।

हराएको लाज हो।

हराएको शब्द हो।

“सेवा” भन्ने शब्द भाषणमा कैद छ।

“धर्म” भन्ने शब्द विवादमा कैद छ।

“संस्कार” भन्ने शब्द औपचारिक कार्यक्रममा कैद छ।

“नेपाल” भन्ने शब्द गीतमा बाँचेको छ।

तर…

नेपालको आत्मा भने

हरेक दिन

हामीभित्रबाट अलिकति–अलिकति विलीन हुँदै गएको छ।

किनकि…

देश पहिले जमिन बेचेर सकिँदैन।

देश पहिले विवेक बेचेर सकिन्छ।

देश पहिले शब्द बेचेर सकिन्छ।

देश पहिले मन बेचेर सकिन्छ।

र…

जब मन नै बेचिन्छ,

त्यसपछि झण्डा फहरिए पनि

राष्ट्र रोइरहेको हुन्छ।

(लामो विराम…)

भानु!

यदि आज तिमी यही मञ्चमा उभिएका हुन्थ्यौ भने,

सायद…

तिमी फेरि रामायण लेख्ने थिएनौ।

तिमी लेख्नेथियौ—

एउटी आमाको प्रतीक्षाको महाकाव्य।

विदेशिएको छोराको मौनताको इतिहास।

हराउँदै गएको शब्दको विलाप।

र…

बेचिन लागेको मनको नेपाल।

सायद तिमी हामीलाई एउटै प्रश्न सोध्नेथियौ—

“रामायण कति पटक पढ्यौ?”

अनि तुरुन्तै अर्को प्रश्न—

“रामलाई कति पटक बाँचेका छौ?”

(लामो मौनता…)

आज…

म कसैको विरोध गर्न आएको होइन।

म त आफ्नै अन्तरात्मालाई ब्युँझाउन आएको हुँ।

किनकि…

देश बचाउने काम एउटा नेताको मात्र होइन।

एउटी आमाको प्रार्थनाको हो।

एउटा किसानको पसिनाको हो।

एउटा शिक्षकको इमानको हो।

एउटा सैनिकको सपथको हो।

र…

सत्य बोल्न नडराउने हरेक नागरिकको हो।

समाप्ति

त्यसैले…

भानु!

तिमी फर्केर नआए पनि हुन्छ।

तर…

तिमीले रोपेका सत्यका शब्दहरू फर्केर आउन्।

रामायण फेरि पुस्तकबाट निस्केर हाम्रो व्यवहारमा बाँचोस्।

राजनीति कुर्सीको खेल होइन, जनताको सेवा बनोस्।

विदेशिएको छोरा कुनै दिन सूटकेस होइन, आमाको अँगालो बोकेर घर फर्कियोस्।

र…

नेपाल

गीतमा मात्र होइन,

हाम्रो चरित्रमा बाँचोस्।

किनकि…

जुन दिन

एउटी आमाले मोबाइलको घण्टी होइन,

आँगनमा छोराको पाइला सुनेर मुस्कुराउनुहुनेछ,

जुन दिन

शब्द फेरि सत्य बोल्नेछन्,

जुन दिन

मन फेरि माटोसँग जोडिनेछ,

त्यो दिन…

भानुभक्तको कलम फेरि मुस्कुराउनेछ।

र हामी गर्वका साथ भन्न सक्नेछौँ—

“नेपाल अझै बाँचेको छ।”

✍️ अमृता घिमिरे ‘असीम ‘ बेसीशहर ८, लमजुङ

यो कविताले २१३ औ भानु जयन्तीको अबसरमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालय बेसीशहरले आयोजना गरेको कविता बाचन प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।