
लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउदी निवासी साहित्यकार लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा दोहोरो सम्मानबाट सम्मानित हुनुभएको छ।
चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको आयोजनामा दाङको लमहीमा असार २६ र २७ गते सम्पन्न नेपाल–भारत अन्तर्राष्ट्रिय चारु महोत्सव, प्रतिष्ठानको आठौँ वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मिश्र सम्मानित हुनुभएको हो।
चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–भारतका सात वटा चारु कृतिको सार्वजनिककरण गरिएको थियो भने तीन दर्जनभन्दा बढी साहित्यकारलाई सम्मान गरिएको थियो।
सोही अवसरमा मिश्रलाई चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश र चारु साहित्य प्रतिष्ठान केन्द्रीय समितिका तर्फबाट ुसुनौलो चारु पुरस्कार–२०८३ु सहित नगद र सम्मानपत्र प्रदान गरिएको थियो। उहाँले एउटै मञ्चबाट दुईवटा सम्मान प्राप्त गर्नुभएको हो।
दर्जनौँ सामाजिक तथा साहित्यिक संघसंस्थामा आबद्ध मिश्र लामो समयदेखि लमजुङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। चारु साहित्यको विकास तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका उहाँ यसअघि पनि विभिन्न राष्ट्रिय तथा साहित्यिक सम्मानबाट सम्मानित भइसक्नुभएको छ।
नेपाली सेनाबाट अवकाशप्राप्त मिश्रले लमजुङको साहित्य, समाजसेवा र सांस्कृतिक क्षेत्रमा निस्वार्थ रूपमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ।









