दोर्दी गाउँपालिकाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ कर्मचारी सम्मानित

-


     नयाँ दीप    
     असार २४ गते २०८३ मा प्रकाशित


लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गर्दै उत्कृष्ट कार्यसम्पादन गरेका ६ जना कर्मचारीलाई सम्मान गरेको छ।

गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएका कर्मचारीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ।

सम्मानित हुने कर्मचारीहरूमा लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रञ्जित श्रेष्ठ, नायब प्रशासन सहायक श्यामसुन्दर प्रसाद पटेल, खानेपानी तथा सरसफाइ टेक्निसियन रकेट बुढा, अनमी मनमाया रावत तथा कार्यालय सहयोगी आइतबहादुर गुरुङ रहनुभएको छ।

बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विच्छबहादुर घले तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सम्मानित कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गर्दै उत्कृष्ट कार्यसम्पादनको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिका नेतृत्वले कर्मचारीहरूको लगनशीलता, जिम्मेवारीबोध र सेवाप्रतिको समर्पणले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति निरन्तर रहने जनाएको छ।

वार्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रममार्फत आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाले सम्पादन गरेका प्रमुख कार्यहरूको समीक्षा, सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे समेत छलफल गरिएको थियो।