
लमजुङमा ३५ औं प्याब्सन दिवस भव्यताका साथ मनाईएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याव्सन लमजुङले विहिबार सदरमुकाम वेसीशहरमा वृहत र्याली सहित विविध कार्यक्रम गरी प्याब्सन दिवस मनाएको हो ।
दिवसको अवसरमा प्याव्सनमा आवद्ध जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागितामा बाजागाजा सहित बेंसीसहरको मनांगेचौताराबाट फुलबारी मञ्चसम्म र्याली निकालिएको थियो । र्यालीमा विद्यालयको व्यानर, शिक्षासँग सम्वन्धित विभिन्न सन्देशमूलक प्लेकाड सहित सहभागि विभिन्न विद्यालयका विद्यार्थीहरु विद्यालय पोसाक सँगै विभिन्न जातजातीको संस्कार सस्कृति र पहिचान झल्कने भेषभुषामा सजिएका थिए ।

र्याली पश्चात फुलबारी मञ्चमा आयोजित प्याव्सन दिवस मुल समारोह कार्यक्रम प्याब्सन केन्द्रिय महासचिव कटवालले उद्घाटन गर्नुभएको हो । प्याब्सन दिवसको शुभकामना व्यक्त गर्दै महासचिव कटवालले निजी तथा आवासीय विद्यालयले गुणस्तर वृद्धि र शिक्षामा नवप्रवर्तन तथा समावेशी शैक्षिक वातावरण निर्माणमा प्याब्सनले अहम भूमिका खेलेको बताउनुभयो । उहाँले राष्ट्रिय शिक्षा क्षेत्रलाई नयाँ दिशा दिएका निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याव्सन एक जिम्मेवार र परिणाममुखी संस्थाका रुपमा अघि वढीरहेको वताउनुभयो ।
प्याव्सन दिवसको अवसरमा जिल्ला समन्वय समिति प्रमुख पूर्णवहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, मस्र्याङी गाउँपालिका अध्यक्ष एवं प्याब्सन लमजुङ सल्लाहकार अर्जुन गुरुङ, दोर्दी गाउँपालिका प्रमुख युवराज अधिकारी, जिल्ला समन्वय समिति लमजुङ उपप्रमुख बुनादेवी रिमाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्मा, राजनितिक दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने गरी समयानुकुल शिक्षा प्राणालीको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
प्याब्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव विनोद गुरुङले गर्नुभएको थियो ।
प्याव्सन लमजुङले २०८१ एसईई परिक्षामा उत्कृष्ट अकं ल्याउने यूनिभर्सल एकेडेमिका प्राप्ती सुयल र ल्याण्डस्टारका रोशन श्रेष्ठलाई सम्मान गरेको छ भने उत्कृष्ट शिक्षकका रुपमा विभिन्न विद्यालयका १७ जना शिक्षकलाई सम्मान गरेको छ ।
यसैगरी प्याव्सन स्पोट्र्स मिट अन्र्तगत विभिन्न विधाका प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्याव्सन स्पोर्टस् मिट २०८२ मा बेसीशहरको युनिभर्सल एकेडेमिले प्रथम स्थान हासिल गरेको छ । प्याव्सनको वार्षिक कार्यक्रम तथा विभिन्न प्रतियोगिता र खेल गतिविधितर्फ धेरै विधामा उत्कृष्ट प्रर्दशन गर्दै युनिभर्सल एकेडेमी प्रथम भएको हो । युनिभर्सलले शिल्ड सहित ३० हजार नगद पुरस्कार पाएको छ ।
यसैगरी द्धितिय स्थान हासिल गर्न सफल हिमचुली आवासिय बोर्डिङ स्कुल खुदीले २० हजार र तृतिय स्थान हासिल गरेको भूपू सैनिक आवासिय मावि बेसीशहरले १० हजार नगद पुरस्कार पाएका छन् । प्याव्सन लमजुङले प्रत्येक वर्ष विभिन्न खेल गतिविधि र निजी विद्यालयस्तरिय विभिन्न प्रतियोगिता सहित प्याव्सन स्र्पोट मिट आयोजना गर्दै आएको छ ।
यसवर्ष पनि स्पोर्टस् मिट र अन्य समयमा भएका प्रतियोगितामा सहभागीता जनाई सवैभन्दा धेरै विधामा उत्कृष्ट हुने विद्यालय मध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कृत गरिएको प्याव्सन लमजुङका अध्यक्ष इश्वर पौडेलले बताउनुभयो ।









