
लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सव शुरु भएको छ । तीन दिनसम्म बिशेष कार्यक्रमका साथ मनाइने स्वर्ण महोत्सव बुधबारदेखी शुरु भएको हो ।
स्वर्ण महोत्सवको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै सामुदायिक विद्यालयमा राज्यको समेत ठूलो लगानी रहेकोले गुणस्तरीय र डिजिटल शिक्षण सिकाइमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख अर्यालले विद्यालयलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै विद्यालयले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनुभयो ।
स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन रानाको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित लाइफ कोच नरबहादुर कार्कीको ‘जीवन रुपान्तरणका लागि आत्मजागरण’ प्रस्तुती, चन्दादातालाई सम्मान, आमा समुह तथा विद्यार्थीको नृत्य, भजन र कलाकारको बिशेष प्रस्तुती रहेको थियो ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका उपउप्रमुख पद्मा गुरुङ, प्रहरी नायब उपरिक्षक रेशम बोहरा, राष्ट्रिय अनुसन्धान लमजुङका प्रमुख रामशंकर केसी, विद्यालयका संस्थापक, जग्गादाता, चन्दादाता, अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम शुरु हुनु अघि आमासमुहले चालिसे चोकबाट विद्यालयसम्म प्रभातफेरी गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपक विष्णुप्रसाद बरालले स्वर्ण महोत्सवको गर्नुको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने शिक्षक भरत खड्काले स्वागत र शिक्षक अमृत सुवेदीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
विद्यालयले स्वर्ण महोत्सवपछि विद्यालयले दीर्घकालीन रूपमा आफूलाई आधुनिक र अभिभावकको प्राथमिकता हुने शिक्षालयको रूपमा विकास गर्ने लक्ष्यका साथ डिजिटल शिक्षण सिकाइ, शिक्षक सक्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण, बालउद्यान जस्ता दर्जनौँ योजना अघि सारेकाले त्यसका लागि स्वर्ण कोष अभियान संञ्चालन गर्दै आएको छ । स्वर्ण कोषमा हालसम्म करिब ८० लाख रुपैया संकलन भएको विद्यालयले जनाएको छ ।
पुस २५ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवमा आज विहिबार शैक्षिक अन्तरक्रिया, शैक्षिक प्रदर्शनी, कलाकारबाट सांस्कृतिक कार्यक्रम र चन्दादातालाई सम्मान कार्यक्रम आयोजना हुने प्रधानाध्यपक विष्णुप्रसाद बरालले बताउनुभयो ।
वि.सं. २०३२ सालमा स्थापना भएको विद्यालयमा हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् । तीमध्ये १०२८ जना विद्यार्थीले एसई\एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् भने करिब ३०० जना कक्षा १२ पास गरेर देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन् ।









