बालकल्याण मा.वि.को स्वर्ण महोत्सवको तयारी तिब्र

-


     नयाँ दीप    
     पौष १७ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, ताल फाँटस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागेको स्वर्ण महोत्सव–२०८२ को सन्दर्भमा बिहिबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

५० वर्षको शैक्षिक गौरव, उज्ज्वल भविष्यको संकल्प, एकता, आपसी सम्मान र सबैको सहभागिता भन्ने मूल नारासहित आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य, तयारीको अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराइएको थियो ।
विद्यालय प्रधानध्यपकले स्वर्ण महोत्सव तयारी अन्तर्गत हालसम्म भएका गतिविधि सार्वजनिक गर्दै आर्थिक सङ्कलन अभियान, संरचनागत निर्माण र विविध कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

जानकारी अनुसार घरदैलो अभियान तथा स्वदेश–विदेशमा रहेका पूर्वविद्यार्थी र शुभचिन्तकबाट हालसम्म ७ सय ४४ जनाबाट ६० लाख १७ हजार ७ सय ८० रुपैयाँ १३ पैसा आर्थिक सहयोग संकलन भइसकेको छ । सर्वाधिक चन्दा बेसीशहर नगरपालिका वडा नं.२ का स्थायी बासिन्दा तथा हाल अमेरिकामा रहेका काजीराम थापाले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जानकारी दिइयो ।

स्वर्ण महोत्सव तयारी अन्तर्गत स्वर्णमञ्च, स्वर्ण गेट र स्वर्ण स्तम्भ निर्माण कार्य अघि बढिरहेको छ भने नगरपालिकाबाट गेट निर्माणका लागि ४ लाख र वडाबाट २ लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

महोत्सव अन्तर्गत पौष १८ देखि २२ गतेसम्म खेलकुद तथा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन् भने पौष २३ देखि २५ गतेसम्म त्रिदिवसीय मूल समारोह आयोजना गरिनेछ । मूल समारोहमा प्रभातफेरी, औपचारिक उद्घाटन, दाताहरूलाई सम्मान, शैक्षिक अन्तरक्रिया, सांस्कृतिक प्रस्तुती, स्वर्ण स्तम्भ अनावरण, उत्कृष्ट विद्यार्थी सम्मान तथा औपचारिक समापन कार्यक्रम समावेश छन् ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यपक, पत्रकार महासघको केन्द्रीय सदस्य कृष्ण केसी, लमजुङ पत्रकार महासंघ पुर्ब अध्यक्ष आस गुरुङ, पत्रकार महासंघ लमजुङको उपाध्यक्ष बसन्त भट्ट, विद्यालयको शिक्षक लगाएतको उपस्थिती रहेको थियो ।