लमजुङमा तमु ल्होसार धुमधामका साथ मनाइयो

-


     नयाँ दीप    
     पौष १५ गते २०८२ मा प्रकाशित


लमजुङका गुरुङ समूदायले तमु नयाँ वर्षको रुपमा तामझामका साथ ल्होसार पर्व मनाएका छन् । बर्गचक्र फेरिएसँगै गुरुङ समूदायले सप्रिप्ल्हो अर्थात सर्प वर्गलाई विदाई गरी त ल्हो अर्थात घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् ।

गुरुङ समुदायले शुभकामना आदानप्रदान, चियापान, सम्मान, स्योकै र सांस्कृतिक कार्यक्रम गरी ल्होछारको स्वागत गरेका हुन् । ल्होसारको मुख्य दिन मंगलबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले तमु संग्रहालयमा शुभकामना आदानप्रदान, सम्मान दिवा भोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

इकाईका अध्यक्ष क्याप्टेन मिलवहादुर गुरुङको अध्यक्षता एवं बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले तमु ल्होसार गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक धरोहर भएको बताउनुभयो । उहाँले भाषा, संस्कृति र पहिचान जोगाउन यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीय सरकारले संस्कृति संरक्षणका गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा सहभागीहरुले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । कार्यक्रममा दोर्दी गाँउपालिका अध्यक्ष युवा राज अधिकारी, मस्र्याङदी गाँउपालिका अध्यक्ष अर्जुन गुरुङ, क्व्होलासोथार गाँउपालिका अधयक्ष सुर्यप्रसाद गुरुङ, बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङ, मस्र्याङदी गाँउपालिका उपाध्यक्ष जुनमाया थापा, क्व्होलासोधार गाउँपालिका उपाध्यक्ष गमिमाया गुरुङ, बेसीशहर ८ का वडा अध्यक्ष पवित्रा थापा राना लगायत, विभिन्न संघसस्था सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा तमु ह्युला छोँज धि बेसीशहर इकाईमा गतवर्ष प्रवेश गरेका सदस्यलाई प्रमाण पत्र वितरण तमु समुदाय तथा आमा समूहका महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्न सहयोग गर्ने पर्यटन तथा उद्योग कार्यालय लमजुङ र ग्रामिण तालिम केन्द्र सिम्पानीलाई सम्मान गरिएको थियो ।

ल्होसार स्वागतमा बेसीशहरको मनाङे चौताराबाट जातिय भेषभुषा सहित झाकीर्याली निकालिएको थियो । र्याली सहभागी इकाई अन्तरगतका ५ टोलका आमा बाबा समुहको भेषभुषा प्रतियोगिता समेत भएको थियो । जसमा शन्ति टोलका बाबा आमा प्रथम र अन्य चार वटा समुह सान्त्वना भएका छन् ।

कार्यक्रममा इकाईका उपाध्यक्ष कुमवहादुर गुरुङले स्वगत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सहकिजरण सचिव सुवेदार कृष्ण वहादुर घले र कुसुम गुरुङले गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा बेसीशहर इकाई अन्र्तगतका पाँच वटा टोल समूह, तमु प्लु संघ र तमु विद्यार्थी छोँज धिले जातिय भेषभुषा सहित नृत्य प्रस्तुत गरेका थिए भने गायक राजवहादुर गुरुङ र गायिका संगिता गुरुङ, कुसुम गुरुङ, दिपेन्द्र गुरुङको गायन प्रस्तुती रहेको थियो । कार्यक्रममा पाँच वटा टोलको फरकफरक परिकार सहित स्योकै कार्यक्रम समेत भएको थियो ।
आज सदरमुकाम बेसीशहर सहित उदिपुर, चिसापानी, राइनास, भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, सिउरुङ, ढंगै, राईनास, पाचोक, इलमपोखरी लगायतका गाउँहरुमा विविध कार्यक्रम गरि धुमधामका साथ ल्होसार पर्व मनाइएको छ ।

गुरुङ समुदायको पहिचान, संस्कार र संस्कृति संरक्षणमा तमु ल्होसारको विशेष महत्व रहेको स्थानीय अगुवाहरूले बताएका छन्। पछिल्ला वर्षहरूमा ल्होसार पर्वलाई सामूहिक रूपमा मनाउने चलन बढ्दै गएको उनीहरूको भनाइ छ।
ल्होसारले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ।