
लमजुङको बेसीशहर नगरपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको छ । नगरपालिकाले पालिका भित्रका ११ वटै वडा बाट छनौट गरी ५० जना जेष्ठ नगारिक हेरचाहकर्तालाई प्रशंसापत्र र नगद ५ हजार रुपैया प्रदान गरी सम्मान गरेको हो ।
हाम्रो साझा अभियानः ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान भन्ने नाराका साथ शुक्रवार पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बृद्ध अवस्थाका आमा वुवालाई सम्मानका साथ स्याहारसुसार र पालन पोषण गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो ।
आफ्ना सन्तानलाई हुर्काउन र लालनपालनमा बाआमाले जुन खालको भुमिका निर्वाह गर्नुभयो, आज तिनै सन्तानले बुढ्यौली अवस्थामा पुग्नुभएका बा आमाको हेरचाह र लालनपालनसँगै सम्मानमा कुनै कमी गर्न नहुने नगरप्रमुख अर्यालले बताउनुभयो । मानविय दायित्व र सेवाभावका साथ ज्येष्ठ नागरिकको सेवामा हेरचाहकर्ताले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको नगरप्रमुख गुमानसिहं अर्यालले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले स्वागत मन्तव्य सँगै कार्यक्रमको उद्धेश्यबारे जानकारी गराउनुभएको थियो । उहाँले जेष्ठ नागरिकले जिवनभर गरेको त्याग र समपर्णलाई आत्मसाथ गर्दै नगरपालिकाले सानो सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित हुने जेष्ठ नागरिक हेरचाहकर्ताले आफ्नो कर्तव्य पुरा गर्दै गर्दा नगरपालिकाले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका उप्रमख पद्मा गरुङ, ८ का वडाअध्यक्ष पवित्रा थापाराना, कर्मचारी, ११ वटै वडाबाट जेष्ठ नागरिकका हेरचाहकर्ताको उपस्थिती थियो । नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले जेष्ठ नागरिकका क्षेत्रमा नगरपालिकालले गर्दै आएका कार्यक्रमहरु, ऐन र नियमावलीमा भएका व्यवस्थाहरुबारे जानकारीसँगै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।









