दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

-


     नयाँ दीप    
     पौष १० गते २०८२ मा प्रकाशित


लमजुङको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ ।

दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने तालिममा दोर्दी गाउँपालिका वडा नं. १, ४ र ५ बाहेक होमस्टे सुरु गरेका गाउँका होमस्टे सञ्चालकहरु सहभागी भएका छन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामा यसअघि होमस्टेलाई प्रवद्र्धन गर्न ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रमको सुरुवात भएकोमा अहिले होमस्टे सञ्चालकलाई व्यवस्थापन तथा खाना बताउने तालिम दिन थालेको बताए । उनले पर्यटकलाई स्वागत गर्न र पर्यटकसंग बोल्दा नलजाउन आग्रह गरे ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले पर्यटन प्रवद्र्धनका माध्ययमबाट गाउँघरका नागरिकलाई स्वरोजगार बनाउन, आर्थिक उपार्जन गराउन तथा गाउँका नागरिकलाई गाउँमै बस्ने वातावरण बनाउन गाउँपालिकाले होमस्टे सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्दै आएको बताए । उनले गाउँको आर्थिक उन्नति र विकासका लागि गाउँमै स्वरोजगार आवश्यक रहेको बताए ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गरेका थिए । दीगो पर्यटन परियोजनाको समन्वयमा दोर्दी गाउँपालिकाले आयोजना गरेको होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ । तालिममा होमस्टे महासंघ गण्डकी इन्चार्ज चुडामणि पौडेल र होटल व्यवस्थापन प्रशिक्षण केन्द्रका सञ्चालक मोहन गजुरेलले प्रशिक्षण दिएका छन् ।

दोर्दी गाउँपालिकामा वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट र दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ र ९ को माझगाउँ गरी ७ वटा गाउँमा होमस्टेहरु दर्ता गरी सञ्चालनमा ल्याइएका छन् । ती होमस्टे गाउँबाट ३० जना बढी होमस्टे सञ्चालकहरु तालिममा सहभागी छन् ।