
गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङका दुईवटा कार्यालयको एकिकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकिकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकिकृत सेवा शुरु भएको हो ।
दुवै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । उक्त कार्यालयको सोमबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि डा. टकराज गुरुङले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. गुरुङले उपलव्ध सिमित श्रोत साधनलाई नागरिकको सेवामा बढी भन्दा बढी प्रयोग गर्नुपर्ने बताउनुभयो । संविधान र शासन व्यवस्थाका वारेमा उठेका गतल धारणाहरुलाई चिर्न पनि सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त दुरुस्त पार्नुपर्ने उहाँको भनाई थियो । प्रविधिमार्फत सेवालाई प्रभावकारी वनाउने, मानवसेवा भन्दा पनि प्रविधिमैत्री सेवालाई व्यवस्थित वनाउनुपर्ने मन्त्रि गुरुङले बताउनुभयो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले एकिकृत सेवाले राज्यको लागत पनि घट्ने र एकै ठाउँबाट सेवा पाउने हुदाँ नागरिकलाई सहज हुने वताउनुभयो । उहाँले प्रत्येक सेवाग्राहीलाई भगवान् सम्झेर प्रभावकारी सेवा प्रवाहका लागि आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादुर गुरुङ, एकिकृत सेवा कार्यालय प्रमुख मिता कुमारी थापा लगायतले कार्यालयलाई प्राप्त अधिकारी, कार्ययोजना र कर्मचारी दरबन्दी बारे जानकारी गराउनु भएको थियो ।
उद्घाटन कार्यक्रमको सहजिकरण अल्पकालिन आश्रय केन्द्र प्रमुख र्सिजना पौडेलले गर्नुभएको थियो । यसअघि गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका सात निर्देशनालय खारेज र केहि निकाय एकिकरण गर्ने निर्णय गरेसँगै कार्यान्वयन गरेको हो ।









