
हिमाल पारीका जिल्ला मनाङ घुम्न पुगेका हिमपातबाट अलपत्र परेका ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका हुन्।
सोमबाररातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याइएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
यसैबीच तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।
सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ।
तिहार अघि र पछि उपयुक्त मौसम भएपछि दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ पुगेका थिए । तर सोमबार रातीदेखि मौसममा परिवर्तन भएपछि हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात हुँदा पर्यटकहरुलाई सास्ती हुन पुगेको छ ।









