छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइयो

-


     नयाँ दीप    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित


छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् ।

व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार ग्रहण गर्ने गर्छन् ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घदिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पहिले पहिले तराईमा मात्रै सीमित छठ पूजा पछिल्ला वर्षहरूमा काठमाण्डौ उपत्यकासहित पहाडमा पनि धुमधामले मनाउन थालिएको छ ।