आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुँइचो

-


     सृजना बराल    
     श्रावण २६ गते २०८२ मा प्रकाशित


साउन महिनाको अन्तिम सोमबार लमजुङका विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरुमा भक्तजनहरुको भिड लागेको छ । साउन महिनाभरी बसेको व्रतको आज अन्तिम दिन हिन्दू धर्मावलम्बीले शिवको विधिपुर्वक पूजा आराधना गरेका छन् ।

साउने सोमबारको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा सोमबार बिहान हजारौं भक्तजनले पूजा आराधना गरेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

सन्तानेश्वर महादेवका रुपमा प्रख्यात रहेको ईशानेश्वर महादेव मन्दिर पशुपतिनाथ पछिको महत्वपूर्ण धार्मिकस्थल रहेको विश्वास गरिन्छ । यहाँ शिवरात्रीमा हरेक वर्ष हजारौं श्रद्धालु भक्तजनले पूजाआजा गर्दछन् ।

यसैगरी सदरमुकाम बेंसीशहरस्थित कर्पुरेश्वर महादेव मन्दिर, बेसीशहरको त्रिवेणी महादेव मन्दिर, राइनास –८ तार्कुघाटमा रहेको धर्मनाथ धाम, सुन्दर बजारको बरेटार शिव मन्दिरमा विशेष पूजापाठ भएको छ । बरेटार शिव मन्दिर परिसरमा शिवपुराण बोलबम महोत्सव आयोजना गरिएको छ ।

सो अवसरमा सवा लाख बत्ती प्रज्ज्वलन कार्यक्रम छ । साउन ९ गते देखि २१ गतेसम्म सञ्चालन हुने १३ दिवसीय धार्मिक महोत्सवमा हरेक दिन मण्डप पूजासहित हवन, रुद्री, चण्डीपाठ तथा पितृ उद्धारसम्बन्धी धार्मिक अनुष्ठानहरू विधिपूर्वक सम्पन्न गरिएका छन् ।

यस वर्ष साउन महिनामा चारवटा सोमबार परेको छ । महिलाले विशेषगरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदैआएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।