करिव एक महिनापछि एकतर्फी खुल्यो लमजुङको मुख्य बाटो

-


     भरत बाबु घिमिरे     
     श्रावण २४ गते २०८२ मा प्रकाशित


सुख्खा पहिरो खसेर भत्किएको करिब १ महिनापछि लमजुङ उदिपुरको बाटो एकतर्फी खुलाईएको छ । गत असार २४ बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खसेर जोखिम बढेपछि सडक आंशिक बन्द गरिएको थियो ।

अहिले सडकको तल्लो भागमा जालमा ढुङ्गा भर्ने काम सकिएकाले यातायात सञ्चालनका लागि एकतर्फी बाटो खुलाईएको हो । ग्याविन जाली भरेर बाँकी रहेको खाली ठाउमा कङ्क्रिटले भर्ने र त्यो सेटभएपछि त्यसको केही दिनमा दुईतर्फि बाटो सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो ।

लमजुङको सदरमुकाम बेसीशहर जाने एक मात्रै सडक बेँसीसहर–डुम्रे सडकको उदीपुरमा पहिरो जाँदा यात्रुहरुलाई निकै समस्या भएको छ ।

सडकमुनी सुक्खा पहिरो खस्दा सडक बग्ने अवस्थामा पुगेपछि सो सडकबाट ठूला सवारी साधन आवातजावतमा रोक लगाइको थियो भने बैकल्पिक बाटोको रुपमा मध्य मस्र्याङदी जलविद्युत परियोजनाको ड्याम्पसाइड मस्र्याङदी नदी किनाराको बाटो प्रयोग गरिएको थियो ।