अबदेखि गुरुङ र मगर भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुने

-


     नयाँ दीप    
     श्रावण १३ गते २०८२ मा प्रकाशित


गण्डकी प्रदेश सरकारले सरकारी कामकाजीको भाषाका रुपमा गुरुङ र मगर भाषालाई मान्यता दिएको भन्दै लमजुङका गुरुङले सदरमुकाम बेसीसहरमा दिपावली गरिएको छ । तमू ह्यूला छोंज धीं (गुरुङ राष्ट्रिय परिषद्) लमजुङको आयोजनामा सोमबार साँझ बेंसीसहरको भीमसेनस्थान चोकमा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनको लागि गण्डकी गण्डकी प्रदेश र प्रदेशको नक्साको सीमानामा मैनबत्ती राखिएको थियो । प्रमुख अतिथिको रुपमा कार्यक्रमममा उपस्थिती बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक संस्थाका अध्यक्ष जीवराज घले लगायतले उपस्थित सवैले पालैपालो मैनबत्ती बालेका थिए ।

नेपाली भाषा सरह सरकारी कामकाजमा गुरुङ भाषालाई पनि मान्यता दिएको भन्दै गुरुङ समुदायले गण्डकी प्रदेश सभाप्रति धन्यवाद ज्ञापन गरेका छन् । संविधानको मर्म अनुसार प्रदेश सरकारले कामकाजी भाषाका रुपमा गुरुङ र मगर भाषालाई मान्यता दिए पनि यसलाई कागजमा मात्रै नभइ व्यवहारमा उतार्न गुरुङ समुदायले प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति लमजुङका अध्यक्ष जीवराज घलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खजीन्द्रबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव गणेश गुरुङले गरेका थिए ।

गण्डकी प्रदेश सभाले गत असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो ।