प्रदेश अस्पताल लमजुङमा इन्डोस्कोपी तथा इको सेवा उदघाटन

-


     नयाँ दीप    
     श्रावण १२ गते २०८२ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङले दिन थालेको इन्डोस्कोपी तथा इको सेवाको आइतवार औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उक्त सेवाको रिबन काटेर उदघाटन गर्नुभएकोे हो ।

सुरुमा लमजुङ अस्पताल बेसीशहरको भीमसेन स्थान चोकका एक जना एचएको भरमा सामान्य रुपमा दिइएको थियो अहिले थुप्रै उपकरणहरुका साथ ३० जना डाक्टरले सेवा दिएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले बताउनुभयो । यस अस्पताललाई छिटै सय शैयाको बनाउने र सुविधा सम्पन्न भवन निर्माणका लागि प्रदेश सरकारद्वारा रकम समेत विनियोजन भएको मन्त्री पौडेलले बताउनुभयो ।

अहिले म्यानपावरको कमी नभएको तर त्यही अनुसार भौतिक पूर्वाधार पनि आवश्यक हुने कुरालाई मध्यनजर गरेर रकम विनियोजन प्रथामिकतामा राखिएको उहाँको भनाई थियो । अब यस अस्पतालको मूख्य आवश्यकता सिटिस्क्यान मेसिन भएको हुँदा यो आर्थिक वर्ष भित्र उक्त मेसिन उपलब्ध गराउन आफु लागि परेको मन्त्री पौडेलको भनाई छ ।

हालसालै जडान गरी सेवा दिन थालेको इको मार्फत १२ सय ५० जनाले सेवा लिइसकेका छन् भने २५० जनाले इन्डोस्कोभी सेवा लिएका छन् । अस्पतालमा पछिल्ला दिनमा विभिन्न सेवाहरु थपिँदै जाँदा सेवाग्राही पनि थपिएको मेडिकल सुपरीटेन्डेन्ट डा शिशिर देवकोटाले बताउनु भयो ।

गत वर्ष भन्दा यो वर्ष २२ हजार ४५४ जना बढीले सेवा लिएको समेत डा देवकोटाले बताउनु भयो । इन्डोस्कोभी सेवा आफैले दिएको र अहिले आफु नभएपनि उक्त सेवा दिन सक्ने मेन पावर तयार गरिएको डा देवकोटाले बताउनु भयो । त्यस्तै डा अमृत अधिकारीले इको सेवा दिइरहनु भएको छ ।

कार्यक्रममा बेसीशहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पवित्रा थापा राना, वडा नं. ३ का अध्यक्ष चित्र बहादुर दनाई, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मेसु डा देवकोटाले स्वागत गर्नुभएको थियो भने सदस्य वासुदेव थापाले सञ्चालन गर्नुभएको थियो ।