धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ

-


     नयाँ दीप    
     वैशाख २२ गते २०८२ मा प्रकाशित


पर्यटकिय नगरी पोखरामा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभरबाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो ।
जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा सहभागी हुन पनि भक्तजनको लर्को लाएको आयोजकको भनाई छ ।

त्यसैले कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भन्छन्, ‘नेपालको पवित्र भूमिमा फेरि एउटा ऐतिहासिक र धर्ममय अध्याय लेखिँदै छ—गण्डकी कोटिहोम महायज्ञ ।’

‘यो हाम्रो सनातन संस्कृति, सामाजिक सद्भाव र आत्मिक जागरणको प्रतीक हो। यो महायज्ञ विशाल छ किनभने यहाँ हजारौँको सङ्ख्यामा श्रद्धालुहरू जुटिरहेका छन्’ उनी भन्छन्, ‘यो ऐतिहासिक छ किनकि यस्ता उच्चस्तरीय धार्मिक कार्यक्रमहरू यति सुव्यवस्थित ढङ्गले कमै जसो आयोजना हुने गर्दछन् । यो नमुना र उदाहरणीय छ किनकि यहाँबाट सम्पूर्ण देशले धार्मिक चेतना, सामाजिक एकता र मानव सेवा सन्देश पाएको छ।’

महायज्ञ स्थलमा विश्वविख्यात बाचिकाहरु जसका मुखारविन्दबाट निस्कने प्रत्येक शब्दले वातावरणलाई धर्ममय बनाइरहेको छ। देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूको दर्शन, र श्रृतिमधुर स्वरमा हुने विभिन्न खालका प्रवचने महायज्ञमा भक्तजनको मन लोभ्याएको छ ।

पोखरालाई मुक्तिद्धारको रुपमा चिनाउन एवम् गण्डकी प्रदेशभित्र रहेका शास्त्र वर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटकलाई प्रवद्र्धन गर्ने महायज्ञको उद्देश्य रहेको छ ।
पोखरा महानगर पालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा भ्रमण वर्षलाई सफल बनाउन पनि यो ऐतिहासिक कोटिहोमले कोषेढुड्डा हुने छ ।

मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले कोटिहोमले पोखरालाई धार्मिक पर्यटनसँग जोड्न ठुलो योगदान पु¥याएको बताए । चाहे त्यो प्रतियोगितामा सहभागिता जनाउन होस् चाहे कोटिहोम जस्तो प्रवित्र कार्यक्रममा सहभागिता जनाउनहोस् भक्तजनका मन यतिखेर पोखरामा जारी ऐतिहासिक कोटिहोमले तानेको लामिछानेको बुझाई छ ।

कोटिहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजी मार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी रहेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

यसैबिच कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । आगामी वैशाख २८ देखि जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटिहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोम जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको आसपासमा सञ्चालन हुने छ ।