
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाहुनडाँडामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वले भरिपूर्ण देवीथानको पुननिर्माण गरिएको छ । विहिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो जानकारी गराइएको हो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको देवीथान पुननिर्माणका लागि स्थानीयले समिति गठन गरि देश विदेशमा रहेका शुभेच्छुक चन्दा संकलन, स्थानीय, प्रदेश तथा संघीय सरकारबाट स्रोत जुटाई आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको छ ।
हालसम्म देवीथान पुनःनिर्माणका लागि ५६ लाख ९१ हजार १ सय ७० रुपैयाँ खर्च गरिएको छ भने अझै मन्दिर सम्म जानेबाटो, मन्दिर परिषररमा फलफूलका विरुवाहरु रोप्न, पिकनिक स्पट साथमा केहि संरचनाहरु बनाउन बाँकी रहेको देवीथान संरक्षण समितिका अध्यक्ष मनि प्रसाद गुरुङले बताउनुभयो । मन्दिर निर्माणको लागि भक्तपुरका दाची ईट्टाकोे प्रयोग गरिएको देवीथान संरक्षण समितिका सचिव विष्णुराज घिमिरेले बताउनुभयो ।
पुननिर्माण सम्मपन्न भएको सो देवीथान मन्दिरको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङद्धारा आगामी बैशाख ५ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले बताउनुभयो ।
देवीथानको ऐतिहाहसिक संरचनालाई यथावत राखी दिगो र आर्कषक रुपको मन्दिर पुननिर्माण गरी पुजाआजा लगायत धार्मिक कार्यलाई अविच्छिन्न राख्नको लागि आवश्यक प्रवन्ध गर्ने, देश विदेशमा रहेका धार्मिक तथा अन्य पर्यटकलाई आर्कषक गरी पर्यटनमा टेवा पुर्याइ त्यस क्षेत्रका बासिन्दाको आर्थिक उन्नतीमा टेवा पुर्याउने संस्थाको लक्ष्य रहेको कार्यक्रममा बताइएको थियो ।
मन्दिर पुननिर्माणमा सवैभन्दा धेरै बाहुनडाँडा घर भई हाल अमेरिकामा बस्दै आउनुभएका समाज टाइम्सका सम्पादक विष्णुहरी घिमिरेले २ लाख २२ हजार २ सय २२ रुपैयाँ चन्दा दान गर्नुभएको छ भने न्यूनतलम ५ हजार भन्दा माथि दिने चन्दादाताको नाम ताम्रपत्रमा राखिने संंरक्षण समितिले जनाएको छ । सो मन्दिरमा विषेशगरी शनिबार, सोमबार र विहिबार पुजा गरिन्छ उँधौली र उभौली पर्वमा विषेश पुजाआजाको साथमा मेला लाग्ने गर्दछ ।
लमजुङ राज्यको स्थापना गर्ने योजनाकार, सूर्यचन्द्र अंकित झण्डाका तर्जुमाकार, राजनीतिज्ञ, ज्योतिषविद्, प्रशासक तथा लमजुङका राजा यशोब्रह्म शाहाबाट तत्कालिन समयमा श्री ३ को पदवीबाट सम्मानित १५१० मा जन्मनुभएका कुश्माखर घिमिरेले आफ्नो बासस्थान रहेको बाहुनडाँडा गाउँको चार कुनामा चार वटी देवीको स्थापना गरेको र ती मध्ये देवीथान एक भएको कुरा मन्दिरमा रहेको पुरानो घण्टीमा लिएको अभिलेखमा उल्लेख गरिएको बताइएको छ ।









