शिवरात्रीमा करापुटार ईशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड

-


     नयाँ दीप    
     फागुन १४ गते २०८१ मा प्रकाशित


नेपालकै मध्य भागमा पर्ने लमजुङको दक्षिण पश्चिममा रहेको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा ठुलो मेला लागेको छ । महाशिबरात्री पर्वको अबसरमा इशानेश्वर महादेव मन्दिरमा मेला लागेको हो ।

काठमाडौको पशुपतिनाथ पछि देशको दोश्रो ठुलो र महत्व बोकेको ईशानेश्वर अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा शीवरात्रीको अवसरमा धार्मिक मेला लाग्ने गर्दछ । शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्नेहरु मेलामा आउने गरेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनायको छ ।

शिवरात्रीको अबसरमा लाखौं भक्तजनहरु शिवजिलाई दूध चढाउन, बत्ती बाल्न तथा पुजा अर्चनाको लागि पुग्ने गर्छन् ।
यस पवित्रस्थलका सम्बन्धमा विभिन्न किंवदन्ती, स्थानीय जनश्रुतिहरू एवं धार्मिक अध्येताहरूका विचारहरू रहेको पाइन्छ ।

योगी नरहरिनाथका भनाइमा पृथ्वीमण्डलमा महादेवका पाँच मुखमध्ये ईशानकोणमा अवस्थित भएकाले तारकेश्वर महादेवलाई ईशानेश्वरस्वरुप भनी ईशानेश्वर महादेव नामाकरण गरिएको हो । मन्दिर एवं शिवलिङ्ग उत्खनन् गर्ने सम्बन्धमा स्थानीय जनश्रुतिअनुसार आजभन्दा करिब ६०० वर्षपहिले स्थानीय वासिन्दा हरिनारायण पोख्रेलका छोरा शिवदास पोख्रेलले चिसो ठाउँ पहिल्याई धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पोले शिवलिङ्गस्वरुप शिला जोतिएर रगत बहन गई गोरुसहित उनी जलेर भष्म हुँदा गोरुको भष्म हुन बाँकी रहेको सिङ अझै पनि प्रमाणस्वरुप सुरक्षित रहेको अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनुभयो । इशानेश्वरको शिवलिङ्ग प्राकृतिक हो भन्ने विश्वास गरिन्छ ।

ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिले क्षेत्र विकास समितिले विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगबाट करिव ६ रोपनी जग्गा खरिद गरेको छ भने बाटो निर्माण, सतल निर्माण, गाणेश मन्दिर परिसर विस्तार, गौरी कुण्ड नजिकै १०८ धारा निर्माण, बाटो विस्तार गरी मण्डप र गणेशस्थानसम्म पु¥र्याउने, गौरीकुण्ड निर्माण, श्लेषमान्तक वन बाटो निर्माण, मन्दिर जीर्णेद्धार, तातोपानी धारा निर्माण लगायतका निर्माण गरेको छ ।

यो मन्दिरमा अन्य समयमा खासगरि बैशाख, साउन र कात्तिक महिनामा भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष दिन भएकाले पूजा अर्चना हुन्छ । अक्षय तृतीया, वाला चतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा ठूलो मेला लाग्ने गर्छ । इशानेश्वर महादेव मन्दिरको सय मिटर क्षेत्रमा रहेको गौरी कुण्डको २० मिटर पूर्व टारीको डिलको थुम्को कुर्पूटारे ठाडो भाकाको उद्गम स्थल समेत मानिन्छ ।