चिती साहित्य समाजको १४ औ बार्षिकोत्सव सम्पन्न

-


     बासुदेव सेढाई    
     माघ २६ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा रहेको चिति साहित्य समाजले आफ्नो १४ औं बार्षिकोत्सव तथा स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । लोकराज आदर्श मा. वि. कार्किडाँडामा भएको कार्यक्रममा रचना वाचन, विद्यार्थीहरुको विचमा मुक्तक प्रतियोगिता, साहित्यिक स्रष्टा सम्मान, भजन प्रस्तुती लगायतका कार्यक्रम गरी स्थापना दिवश मनाएको हो।

साहित्य समाजले राखेको मुक्तक प्रतियोगितामा जनजागृती मा.वि.बाट कृष्मा पन्त प्रथम, वालविकास मा.वि. की कौसिला सेढाई द्धितीय, जनजागृतिकै अरुण परियार तृतीय र लोकराज आदर्श मा.वि. की सर्मिला तामाङ, रोजिना विक, उपेश चिलुवाल सान्त्वना भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञा सभा सदस्य प्रकाश तिवारीले साहित्य समाजको १४ औं जन्मदिनको अवसरमा जन्मदिनमा वृक्षरोपण कार्यक्रम अन्तरगत कपुरको विरुवा रोपेर र ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिवारीले साहित्य संस्था सबैको साझा संस्था हुने भएकोले यसलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँलेसाहित्यकार भिमनिधि तिवारीको योगदानको स्मरण समेत गराउनुभयो ।
चिति साहित्य समाजका अध्यक्ष ज्ञानशाली पन्तले कार्यक्रममा उपस्थित र सहयोग गर्नुहुने सबै प्रति धन्यवाद व्यक्त गर्दै आफ्ना पिताले देखाउनु भएको सत्मार्गमा सधैं लागिरहने भन्दै चितिको समग्र विकासमा उहाँको योगदान अतुलनीय रहेको र आफ्नो पनि रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शिव प्रशाद जोशी, समाजका संस्थापक अध्यक्ष रुद्रनिधि तिवारी, लोकराज आदर्श माध्यमिक विद्यालयका प्र.अ. तेजनारायण मण्डल, सोहि बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर विष्ट, शान्ति भवन प्रावि.का प्रधानाध्यापक ध्रुवशाली पन्त, समाजका पुर्ब उपाध्यक्ष रमेश विष्ट, रेडियो भोटेवडारका स्टेसन म्यानेजर एबं युवा कवि बासुदेव थापा, लिस्नो साहित्यिक मञ्च नेपालका संरक्षक बसन्त अधिकारी, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार बासुदेव सेढाई लगाएतले शुभकामना मन्तव्य र रचना वाचन गर्नुभएको थियो ।

समाजका उपाध्यक्ष नेत्र कुतालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कोषाध्यक्ष बाबुराम पाण्डेले बार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियोे । समाजका अध्यक्ष ज्ञानशाली पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सोविता रेग्मीले गर्नुभएको थियोे ।