सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु, छानविन समिति गठन

-


     नयाँ दीप    
     श्रावण १० गते २०८१ मा प्रकाशित


उद्दारका लागि विमान दुघर्टनास्थलमा खटिएका सुरक्षाकर्मी काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना भएको स्थलमा उद्दारका लागि खटिएका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विमानमा रहेका १९ जना नै सौर्य एअरलाइन्ससँग सम्बन्धित रहेका छन् । शुरुमा सौर्य एअरलाइन्सले सबै जना कम्पनीमै आबद्ध व्यक्ति रहेका बताएको थियो । तर विमानमा रहेकी महिला र नाबालक सौर्य एअरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेका खुलेको छ । १७ जना भने सौर्य एअरलाइन्सका चालकदल, व्यवस्थापक एवम् प्राविधिक रहेका छन् । विमानमा को–पाइलट सुशान्त कटुवाल, चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा रहेका एअरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा परेको विमान ’सी–चेक’ अर्थात् नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । सौर्य एअरलाइन्सले पोखरा विमानस्थलमा रहेको ह्याङ्गर आजदेखि एक महिनाका लागि मागेर प्राविधिकसहित पोखरा लैजान लागेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । पोखरामा तीन वटा विमान अटाउने ह्याङ्गर छ । जसमा यति एअरलायन्सले एउटा विमान यस्तै मर्मतका लागि राखेको छ । नेपालमा त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र नेपालगञ्जमा ह्याङ्गर छन् । ह्याङ्गरमा राखेर विमान मर्मत गरिन्छ ।

’सी–चेक’ भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने नभई नियमित मर्मत–सम्भार हो । हरेक विमानको डेढदेखि दुई वर्षमा ’सी–चेक’ गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाजका सिटलगायतका धेरैजसो ’पार्ट’ खोलेर जोड्नुपर्ने भएकोले प्राविधिकको ठूलो समूह संलग्न हुन्छ । आजको दुर्घटनासँग यो मर्मतको सम्बन्ध नरहने जानकारहरू बताउँछन् ।

सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा नेपाल वायु सेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्य रहने गरी आयोग गठन गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा सञ्चालन गरिरहेका सबै वायु सेवा सञ्चालक कम्पनीहरूलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।