क्व्होलासोथार गाउँपालिकालाई कृषि र पर्यटनका माध्यमबाट समृद्ध बनाउन सरोकारवालाको सुझाव

-


     नयाँ दीप    
     असार ४ गते २०८१ मा प्रकाशित


क्व्होलासोथार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रमका लागि राजनीतिक दल सहित सरोकारवालासंग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिका केन्द्र मालिङ स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आगामी योजनामा समेटिने कार्यक्रमका लागि निर्माण हुने नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव संकलन गरेको हो ।

सहभागीले कृषि र पर्यटनका माध्ययमबाट गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै दीर्घकालिन नीति निर्माण गर्न सुझाव दिएका थिए । गाउँपालिकाका हरेक वडाले वडाको नीति तथा योजना तर्जुम गर्नुपर्ने, गाउँपालिकाले दीर्घकालिन रुपमा नीति र योजना तर्जुमा गर्नुपर्ने र सोही अनुरुप गाउँपालिकाले कार्यक्रम र बजेट निर्माण गर्नुपर्नेमा सहभागीको जोड थियो ।
भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताहरु नागरिकमुखी बनाइनुपर्ने, सवैभन्दा नजिकको सरकार नागरिकको घरदैलोमा पुग्नुपर्ने, नागरिकका हरेक पिरमर्कालाई सम्बोधन गर्ने खोलका नीति तथा कार्यक्रम निर्माण भएमा नागरिकले प्रत्यक्ष फाइदा लिन सक्ने सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा क्व्होलासोथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घले, नेपाली कांग्रेस लमजुङ क्षेत्र नं. २ का सभापति रघुनाथ गुरुङ, नेकपा एमाले क्व्होलासोथार गाउँपालिका कमिटी अध्यक्ष गंगाबहादुर घले, नेपाली कांग्रेस क्व्होलासोथार गाउँपालिका कार्य समितिका सभापति पसबहादुर गुरुङ, राप्रपा क्होलासोथार गाउँपालिका कार्य समिति सभापति चन्द्रप्रसाद गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, क्व्होलासोथार गाउँपालिका २ का पूर्ववडा अध्यक्ष बुद्धिप्रसाद गुरुङ, लमजुङ उद्योग बाणिज्य संघ क्व्होलासोथार इकाई अध्यक्ष डिलेश्वर गुरुङल गायतले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बारे आ–आफ्ना राय सुझाव दिएका थिए ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले आगामी आर्थिक वर्षका लागि सरोकारवाला निकायसंग राय सुझाव संकलन कार्य जारी रहेको र विभिन्न माध्ययबाट रायसुझाव आइरहेको बताउनुभयो । असार १० गतेसम्म नीति तथा कार्यक्रम सहित बजेट पेश हुने भएकाले गाउँपालिकाको विकासका लागि आफ्ना रायसुझाव दिन देश विदेशमा रहनुभएका क्व्होलासोथारका वासिन्दालाई उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङले कार्यक्रमबारे जानकारी गराउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पालिकाको शिक्षा, युवातथा खेलकुद शाखा प्रमुख दीपकराज पौडेलले गर्नुभएको गाउँपालिका सूचना प्रविधि अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।